उम्मेदवारी घोषणा

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही मङ्सिर १६ र १७ गते हेटौँडामा हुने प्रदेश अधिवेशनमा कांग्रेस नेता बानियाँले सभापति पदमा उम्मेदवारी घोषणा गरी तयारी अघि बढाउनुभएको हो ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता बानियाँले प्रदेशका १३ वटै जिल्लामा कांग्रेसको सङ्गठन चुस्तदुरुस्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । सकेसम्म सहमतिबाटै नसके निर्वाचनबाट भए पनि आफू सभापति बन्ने उहाँले दाबीसमेत गर्नुभयो । उहाँले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता कृष्ण सिटौलालगायत शीर्ष नेतृत्वसँग सहमति जुटाउनका लागि छलफल भएको पनि बताउनुभयो । उहाँले आन्तरिक ढङ्गले छलफललाई अघि बढाउनुका साथै प्रदेश समितिमा सबै क्षेत्र र वर्गको प्रतिनिधित्व हुने गरी खाका तयार गरिरहेको उल्लेख गर्नुभयो ।

विसं २०७० को संविधानसभा निर्वाचनमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएका उहाँ विसं २०७४ मा मकवानपुर सङ्घीय क्षेत्र २ को (ख) बाट प्रत्यक्षतर्फ बागमती प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको हो । कांग्रेसबाट निर्वाचित २२ सदस्य रहेको प्रदेशसभामा बानियाँ सर्वसम्मत नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बन्नुभएको थियो । विसं २०४४ देखि राजनीतिमा होमिनुभएका उहाँ नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको अनुभव हासिल गर्दै विसं २०७३ मा कांग्रेस मकवानपुरका सभापति हुनुभएको हो । विसं २०७४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारीसमेत उहाँले सम्हालिसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

जाजरकोट बस दुर्घटनाप्रति मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

एमाले महाधिवेशन : अध्यक्षमण्डल बैठक सुरु