पदयात्रा मजदुरलाई सहयोग

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराको आयोजना एवं कर्मा फ्लाइट्स फाउन्डेसन नेपालको साझेदारीमा कोरोना कहरका कारण प्रभावित पदयात्रा मजदुर (पथ प्रदर्शक र सहयोगी) को सहयोगार्थ राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ । पोखरामा रही पदयात्रा क्षेत्रमा क्रियाशील १३० मजदुरलाई चामल, दाल, चना÷केराउ, तेल, नुन, मस्यौरा (सोयाबिन), साबुनलगायतका सामान वितरण गरिएको हो ।

देशका विभिन्न स्थानबाट आएर पोखरामा बालबच्चासहित परिवारको साथमा घरभाडामा बसेका मजदुर विगत एक वर्षदेखि कोरोना कहरका कारण पदयात्रा पर्यटन ठप्प भएसँगै बेरोजगार बनेको र निषेधाज्ञाका कारण अन्य वैकल्पिक रोजगारीसमेत नभएका कारण परेको खाद्यान्न सङ्कटलाई दृष्टिगत गरी सहयोग गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिनुभयो ।

कोराना कहरका कारण दीर्घकालीनरूपमा पदयात्रा आश्रित मजदुरको समस्या समाधान र पर्यटनको जनशक्तिलाई जोगाउने वातावरण तयार गर्न सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका सरकार क्रियाशील बन्नुपर्ने उहाँले बताउनुभयो ।

वृद्धाश्रममा सहयोग

पोखरा महानगरपालिका–१७ स्थित पोखरा वृद्धाश्रममा कोरोनाको कहरसँगै तरकारी तथा खाद्यान्न अभाव भएको सूचना पाएसँगै यहाँको तल्लो कुलाको डिल टोल विकास संस्थाले ४० हजार नगदसहित खाद्यान्नसमेत गरी रु ८० हजार बराबरको सहयोग गरेको छ ।

पोखरा–६ मा क्रियाशील संस्थाले बुधबार पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई उक्त सहयोग हस्तान्तरण गरेको टोल विकास संस्थाका सदस्य ऋषिराम बरालले जानकारी दिनुभयो । कोरोना कहरका कारण निषेधाज्ञा जारी भइरहेको अवस्थामा विगतमा जस्तो सहयोगी दाताहरू आउनसमेत असमर्थ भएको सूचना पाएसँगै संस्थाको पहलमा उक्त सहयोग जुटाइएको संस्थाका अध्यक्ष मणिराम बरालले बताउनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

खोप लगाएपछि वृद्धवृद्धा भन्छन्, “अब बाँचिन्छ होला”

आत्मनिर्भरमुखी कृषिमा जोड