नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण, बहुमत पु¥याउन कठिन

जेरुसेलम, २५ चैत (रासस–एपी) – इजरायलका राष्ट्रपति रुभेन रिभलिनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण गर्नु भएको छ । हालै सम्पन्न संसदको निर्वाचनमा स्पष्ट बहुमत हासिल नगरे पनि ठूलो दलको हैसियतमा नेतन्याहूलाई सरकार गठन गर्न आमन्त्रण गरिएको हो ।

गहिरो रुपमा विभाजित संसद् र भ्रष्टाचारको आरोपमा सुनुवाई भइरहेको अवस्थामा प्रधानमन्त्री नेतन्याहूका अघिल्तिर सरकार गठनमा निकै ठूलो चुनौती छ । इजरायलको राजनीतिक इतिहासमा नेतन्याहू सबैभन्दा लामो अवधिसम्म अर्थात् १२ वर्षदेखि प्रधानमन्त्रीका रुपमा रहनु भएको छ ।

प्रधानमन्त्री नेतन्याहूले आफ्ना राजनीतिक प्रतिस्पर्धीसँग गठबन्धन बनाउन छ हप्ताको समयावधि पाउनु भएको छ । तर प्रधानमन्त्रीले विपक्षीहरुको समर्थन प्राप्त गर्ने सम्भावना ज्यादै न्यून रहेको जानकारहरुले बताएका छन् । यसैबीच, उहाँका प्रतिस्पर्धी दलहरुले पनि नयाँ वैकल्पिक सरकार गठन गर्ने प्रयासलाई तिब्र बनाएका छन् ।

सत्तारुढ लिकुड पार्टीका सदस्यहरुसँगको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री नेतन्याहूले आफू यहुदी र अरब, धार्मिक तथा धर्मनिरपेक्ष समेतका सबै इजरायली जनताको प्रधानमन्त्री हुन चाहेको बताउनु भएको छ ।

“हामी सबैलाई समानताको व्यवहार गर्नेछौं,” भन्दै उहाँले पटकपटकको चुनावी चक्रबाट इजरायललाई बाहिर निकाल्ने तथा सबै इजरायली नागरिकका लागि बलियो सरकार स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इजरायलमा विगत दुई वर्षको अवधिमा कुनै पनि दलले संसदमा बहुमत सिद्ध गर्न नसकेपछि चौथो पटक संसदको निर्वाचन भएको हो ।

विगतमा झैं राष्ट्रपति रिभलिनले सोमबार इजरायली संसद नेसेटमा निर्वाचित भएका १३ दलका नेताहरुसँग परामर्श गर्नु भएको थियो । उहाँले प्रधानमन्त्रीको सर्वसम्मत उम्मेदवार छनौटका लागि उक्त परामर्श गरे पनि निकास निस्कन सकेको थिएन ।

बैठकमा प्रधानमन्त्री नेतन्याहू वा उहाँका मुख्य प्रतिस्पर्धी याइर लापिडबीच पनि सहमति जुटेको थिएन । उहाँहरु दुबैले बहुमत सांसदको समर्थन प्राप्त गर्न असफल हुनु भएको थियो ।
इजरायली संसद १२० सदस्यीय रहेको छ ।

नेतन्याहूले २८ दिनभित्र संसदमा बहुमत हासिल गर्नु पर्नेछ । त्यस अवधिमा पनि बहुमत नजुटेको अवस्थामा राष्ट्रपतिले अरु दुई हप्ता थप गर्न सक्ने संवैधानिक प्रावधान छ ।

प्रधानमन्त्री नेतन्याहूको सत्तारुढ लिकुड पार्टीले संसदमा ५२ सांसदको समर्थन प्राप्त गरेको छ, र यो संख्या विपक्षी नेता लापिडको भन्दा बढी हो, तर सरकार गठनका लागि ६१ स्थान जरुरी हुन्छ । लापिडको दलले ४५ स्थान जितेको छ भने नफताली बेनेटको दलले ७ स्थानमा विजय हासिल गरेको छ ।

नेतन्याहूले एउटा सानो अरब इस्लामिक पार्टी र्यामको समर्थन प्राप्त गर्नु पर्नेछ । र्यामका नेता मन्सुर अब्बासले इजरायलको अरब क्षेत्रलाई नेतन्याहूले सहयोग गरे सरकारलाई समर्थन गर्न सक्ने बताउँदै आउनु भएको छ । इजरायलभित्रको अरब क्षेत्रमा अपराध, विभेद र गरिबी व्याप्त छ ।

तर नेतन्याहूलाई समर्थन गर्ने अतिवादी रेलिजियस जियोनिस्ट पार्टीले भने अरब पार्टीसँग साझेदारी गर्ने कुरालाई अस्वीकार गर्दै आएको छ । नेतन्याहूले अर्को धार्मिक राष्ट्रवादी पार्टी यामिनाको पनि समर्थन प्राप्त गर्ने प्रयत्न गर्नु हुनेछ । यामिनाले पनि अरब पार्टीहरुसँगको गठबन्धनलाई त्यति रुचाएका छैनन् ।

अर्कोतिर, विपक्षी नेताहरु लापिड र बेनेटबीच पनि सत्ता साझेदारीका विषयमा वार्ताहरु जारी छन् । लापिडले आफू र बेनेटबीच प्रधानमन्त्रीको कार्यकाल आधाआधा समयको गर्ने प्रस्ताव राख्नु भएको छ । उहाँहरु दुबै प्रधानमन्त्री नेतन्याहूको लामो कार्यकाल अन्त्य गर्न सहमत हुनु भएको छ ।
––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायो ः सभापति देउवा

आगलागीमा परेर दुई बालबालिकाको मृत्यु