निर्माण हुँदै एकीकृत तामाङ नमूना बस्ती

भूकम्पबाट क्षतिग्रस्त घर नजिकै निर्माण गरिएको जस्ताको टहरामा बस्दै आउनुभएका हर्कबहादुर कहिले नमूना घर निर्माण हुन्छ र बस्न पाइएला भनेर पर्खिरहनुभएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डनको तीनधाराको घरको तल्लोपट्टीको बारीमा बन्दै गरेको नमूनाबस्ती सम्पन्न नहुँदा उहाँ जस्ताको टहरामा नै बस्दै आउनु भएको छ । त्रिहत्तर वर्षीय तामाङ बस्ती निर्माणको कामले गति लिइरहेकाले अब भने पक्की घरमा बस्न पाइने आशा हुनुहुन्छ ।

उहाँले आफ्नो बारीसमेत एकीकृत नमूनाबस्ती बनाउन उपलब्ध गराउनु भएको छ । “अहिलेसम्म बनाएर घर सम्पन्न भएको छैन, सकेपछि रोजेर बस्न पाइन्छ भन्ने छ”, उहाँले भन्नुभयो, “बस्ती निर्माणको लागि उपलब्ध गराएको जग्गाको पैसा पनि पाइएको छैन, घर भने निर्माणाधीन अवस्थामा रहेकोले खुशी छु ।” बस्ने घर पक्की नभएपछि कहिले भूकम्पले चर्केको घरमा नै टाल्दै बस्दै त कहिले टहरा सार्दै बस्ने गर्दैआइरहेको उहाँले बताउनुभयो ।

एकातिर बस्ने पक्की घरको अभाव, अर्कोतिर लिफ्टिङ खानेपानीको भरमा बस्नुपर्दा समस्या झेलिरहनुपरेको उहाँले दुखेसो गर्नुभयो । अर्का स्थानीय बासिन्दा सार्कीमान तामाङ पनि भूकम्पले चिराचिरा पारेको घरमा नै जसोतसो टालटुल गरेर बस्दै आउनुभएको छ । “केहीले घर बनाएर बसिसकेको छ, केही तल बेँशी झरिसकेका छन्, हामी भने यही बस्तीलाई नमूना बनाउने भनेपछि नयाँ घर बन्ला र बसौंला भन्ने आशामा बसिरकेका छौं”, उहाँले भन्नुभयो, “नापजाँच गर्न शुरु गरेको दुई÷तीन वर्षमा बल्ला निर्माणको कामले गति लिएको छ ।” करिब ५५ घरधुरी रहेको सो बस्तीमा भूकम्पपछि केही परिवार तल बँेशी हल्देटारमा झरिसकेको उहाँले बताउनुभयो ।

उहाँ मात्रै होइन, त्यसरी भूकम्पपश्चात समस्याकै बीचमा बस्दै आएका ३० घरपरिवार त्यहाँ निर्माणाधीन नमूना पक्की घरमा बस्न पाउने छन्् । अहिले ३० घरधुरीको लागि निर्माण भइरहेको एकीकृत नमूना बस्तीमा करीब १६ घरको छाना हालिसकेको र बाँकी १४ घरमध्ये केहीको जग राख्दै र केहीको निर्माण भइरहेको छ ।

हाल निर्माण भइरहेको नमूना बस्तीको काममा एक घरपरिवारले १०० दिन श्रम गर्नुपर्नेछ । त्यसपछि श्रमको मूल्य पाउँछ भन्ने छ तर कसरी कति पाउँछ भन्ने अहिलेसम्म निर्णय नभएको सार्कीमानले बताउनुभयो । त्यसरी निर्माण भएको काममा सबै जनशक्ति स्थानीयस्तर बाटै पूर्ति भइरहेका छन् । पुनःनिर्माणको क्रममा पहिला एक साताको तालीम लिएका उहाँहरुले इञ्जिनीयरको निर्देशनअनुसार निर्माणको काम भइरहेको छ । सो क्रममा निरन्तर इञ्जिनीयरले रेखदेख गरिरहेका छन्् ।

सो बस्ती निर्माणका लागि प्राविधिकको रुपमा काम गरिरहनुभएका सबइञ्जिनीयर दिनेश सुवालका अनुसार बस्ती निर्माणको लागि जिम्मा लिएका कारितास नेपालले सबै अनुदान उपलब्ध गराउने गरी काम गरेको छ । पहिलो किस्ताबापतको रु ५० हजार उपलब्ध गराएपछि बाँकी कामको जिम्मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई नै दिएको थियो । उहाँले भन्नुभयो, “कतिपय घर निर्माण भएर अन्तिम किस्तासमेत पाउने बेला भए पनि अझै दोस्रो किस्ता कहिले आउँछ भन्ने नै टुङ्गो छैन ।” कारितासले उपलब्ध गराएको विवरणमा पहिलो किस्ता नै लिएको नदेखेका कारण प्रक्रिया अगाडि बढाउन समस्या भएको भन्ने जानकारी आएको उहाँले बताउनुभयो ।

ह््याविट्याट फर हुमानिटी संस्थाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेपछि अहिले निर्माणको काम अगाडि बढेको हो । उहाँका अनुसार अबको तीन महिनामा सबै सम्पन्न गरिसक्ने उहाँले बताउनुभयो । पूर्ण रुपमा सम्पन्न भइसक्दा एक घर बराबर रु दश लाख ५० हजार लाग्ने छ । त्यससँगै करीब रु ५० लाखको लागतमा नमूना बस्तीभित्र नै एक सामुदायिक भवन र सांस्कृतिक भवनसमेत निर्माण गर्ने लक्ष्य छ । सो बस्ती निर्माणमा लागि परेका अगुवा रामबहादुर तामाङकाअनुसार तामाङ एकीकृत नमूना बस्तीमा ३० वटा घर निर्माणको काम तीव्र रुपमा अगाडि बढिरहेको छ । जहाँ घरबास (होमस्ट)को परिकल्पनासहित निर्माण भइरहेको उहाँले बताउनुभयो ।

त्यहाँ रहेको सबै तामाङ समुदाय भएकाले तामाङ संस्कार, संस्कृति र रितिरवाज झल्किने गरी बस्ती निर्माण हुनेछ । “बस्तीसँगै एउटा सामुदायिक भवन र अर्को सांस्कृतिक भवनसमेत निर्माणको काम अगाडि बढिरहेको छ”, उहाँले भन्नुभयो, “बस्तीबाहेक सामुदायिक भवन निर्माणको लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई (भवन)को आर्थिक तथा प्राविधिक सहयोगमा र अर्को सांस्कृतिक भवन वाग्मती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको छ ।”

पहिलो किस्ता प्राप्त गरेको रकमबाहेक अहिलेसम्ममा सबै काम ऋणमा नै गरिरहेको उहाँले बताउनुभयो । “गर्नुपर्ने प्रक्रिया सबै गरिसकेको भए पनि पुनःनिर्माण प्राधिकरणबाट पैसा अहिलेसम्म पनि पाएका छैनौं”, उहाँले भन्नुभयो, “प्रक्रियामा नै रहेको भन्ने छ तर पाँच÷छ महिना भइसक्यो, पैसा प्राप्त नभएपछि अहिले हामीले ऋण खोजेर नै कामलाई निरन्तरता दिइरहेका छौं ।” उहाँका अनुसार नगरपालिकाले छानो निर्माणको जिम्मा लिएर थप सहयोग गरिरहेको छ । पहिला सहयोगी संस्था कारितास नेपालले जिम्मा लिएको काममा दिनुपर्ने पहिलो किस्ता दिइसकेको, बाँकी पैसा नेपाल सरकारको खातामा राख्ने तयारी भएको र आवश्यक परेको बेलामा निकालेर प्रयोग गर्न सक्ने भनिएको थियो । “अहिले निर्माण भइरहेको बस्तीको दोस्रो किस्ता मागको लागि पुनःनिर्माण प्राधिकरणमा विवरण पेश गर्दा पहिलो किस्तासमेत निकासा नभएको पाएपछि झन् समस्यामा परेका छौं”, उहाँले थप्नुभयो, “काम गर्नको लागि ह्याविट्याट फर ह््यमानिटीले राखेका इञ्जिनीयरलाई समुदायबाट नै पैसा उठाएर दिने गरी काममा लगाइरहेका छौं ।” सांस्कृतिक भवन बनाउन प्रदेश सरकारबाट रु दश लाख प्राप्त गरेको छ । सांस्कृतिक भवनमा हलसहित दोस्रो तलामा तामाङ सङ्ग्रहालयसमेत निर्माण गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

नमूना बस्तीसहित सामुदायिक भवन र सांस्कृतिक भवन गरेर करिब ३५ रोपनीमा सो एकीकृत नमूना बस्ती निर्माण भइरहेको छ । प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन समिति) काभ्रेपलाञ्चोकका प्रमुख सच्युतराज उप्रेतीले केन्द्रमा नै ‘सिस्टम’ मिलाउनुपर्ने भएकाले प्रक्रियामा रहेको र छिट्टै रकम प्राप्त हुने बताउनुभयो । “हामीले जिल्लाबाट सबै प्रक्रिया पु¥याएर केन्द्रमा पठाइसकेका छौं”, उहाँले भन्नुभयो, “अब पाउनुपर्ने रकम लाभग्राहीले छिट्टै नै पाउनेछन् ।”

प्रचार नहुँदा ओझेलमा खाँडादेवी

प्रचारप्रसारका अभावमा ओझेलमा खाँडादेवी मन्दिर मानिस मनोकांक्षा पूरा गर्नका लागि विभिन्न शक्तिपीठमा भाकल गर्ने र दर्शनका लागि जाने गर्दछन् । जसले सोचेको कुरा पूरा हुने र मनोकांक्षालाई पूर्णता दिने आशाका साथ शक्ति पीठमा जाने गरिन्छ । काभ्रेपलाञ्चोकको विकट कोशिपारिस्थित चौरी देउराली गाउँपालिका–२ दूतिमा रहेको खाँडादेवी मन्दिर जहाँ दर्शन गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

स्थानीय बासिन्दा देवहादुर प्रधानका अनुसार सो मन्दिरमा पूजा र दर्शन गर्नका लागि टाढाटाढाबाट दर्शनार्थी खाँडादेवी मन्दिर पुग्ने गरिन्छ । पहिला पहिला पैदल हिँडेरै आउने गरेको भए पनि पछिल्लो समयमा सडक सञ्जालले जोडेको कारण भक्तजनको सङ्ख्यामा वृद्धि हुँदै गएको उहाँको भनाइ छ । सडक सञ्जालले जोडेपछि भक्तजनहरु पछिल्लो समयमा गाडी नै ‘रिजर्भ’ गरेर मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् ।

अर्का स्थानीय बासिन्दा मीनबहादुर प्रधानका अनुसार वर्षको दुई पटक त स्थानीय बासिन्दाले पूजाआजा गर्नुका साथै दशैंँमा पाँच दिनसम्म मेला लाग्ने गरेको बताउनुभयो । विशेष गरी दशैँको बेलामा मेलासमेत लाग्ने गरेको मन्दिरमा पूजा र दर्शनका लागि भक्तजन आउने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

परेवा, भाले र पाठी ल्याएर पूजा गर्ने गरेको भाकल पूरा हुने जनविश्वासका कारण खाँडादेवी मन्दिरको दर्शन गर्न आउने गरेको दर्शनार्थी बताउँछन् । मन्दिरमा दर्शन गर्नका लागि रामेछाप जिल्लाको दोरम्बा र काभ्रेपलाञ्चोक जिल्लाको कोशीपारी क्षेत्रका बासिन्दा, काठमाडौँ, ललितपुर, भक्तपुर तथा अन्य जिल्लाका भक्तजन मन्दिरमा दर्शन गर्न आउने गरेको भए पनि प्रचारप्रसार र यातायातको सुविधा नभएका कारण अझ धेरै मानिस आउन नसकेको चौरी देउराली गाउँपालिका–५ का वडाध्यक्ष राजकुमार गौतमले बताउनुभयो ।

“प्रचारप्रसारको कमीका कारण यहाँका महिमा र शक्ति पीठबारे जानकारी नभएका कारण भक्तजन आउन सकिरहेका छैनन्”, उहाँले भन्नुभयो, “यसअघि पहिलादेखि नै आउने र उहाँबाट थाहा पाउने मात्रै मन्दिर दर्शनमा आउने गरेको पाएका छौं ।” महत्वपूर्ण शक्तिपीठ भए पनि ओझेलमा परेको दूर्गम ठाउँ भएकाले त्यसको लागि सडक सञ्जालको व्यवस्थापन र मन्दिरलाई थप व्यवस्थित गराउन गाउँपालिका लागिरहेको गौतमले बताउनुभयो ।

त्यसरी महत्वपूर्ण मानिएको शक्ति पीठमा विसं २०७२ मा गएको भूकम्पले क्षति पु¥याएपछि मन्दिर पुनःनिर्माणका कामसमेत भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र पर्ने प्रसिद्ध मन्दिरलाई थप व्यवस्थित गर्नको लागि गाउँपालिकाको पहलमा पुरातत्व विभागबाट रु २० लाख बजेट विनियोजन गरी पुरातात्विक ढङ्गले पुनःनिर्माणको प्रक्रिया अगाडि बढिसकेको वडाध्यक्ष राजकुमार गौतमले जानकारी दिनुभयो ।

गाउँपालिकाले रु दश लाख बजेटको व्यवस्थापन गरी मर्मत गरिरहेको उहाँले बताउनुभयो । धार्मिक पर्यटनको हिसाबले पनि अत्यन्तै सम्भावना बोकेको ठाउँ भएकाले पनि त्यसको तप विकास र प्रवद्र्धनको काममा गाउँपालिकाले योजना बनाएर अगाडि बढ्ने योजना बनाइरहेको र थप बजेटको व्यवस्थापन गर्ने गाउँपालिकाले जनाएको छ ।

त्यससँगै पर्यटन पदमार्ग निर्माण गर्नको लागि प्रदेश सरकारबाट रु ३० लाख बजेट विनियोजन गरिसकेको त्यसमा पालिकाले पनि थप सहयोग गर्ने भएको उहाँले बताउनुभयो । मन्दिरसम्म जानका लागि बाटोको सहजता बनाउन र शौचालयको व्यवस्थापन गर्न गाउँपालिकाले तत्काल कार्य अगाडि बढाउने तयारीमा रहेको जनाएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

चिसोका कारण तराईको जनजीवन कष्टकर –सञ्जीतकुमार मण्डल

भूउपग्रहसम्बन्धी अध्ययन गर्न नौ कम्पनीको आवेदन