ठेकेदार फरार हुँदा चार वर्षदेखि नगरपालिकाको भवन निर्माण अलपत्र

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिकाको भवन निर्माण कार्य करीब चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण कार्यको ठेक्का लिएको ठेकेदारले २०७३ वैशाखमा काम छोडेर हिँडेपछि नगरपालिकाको भवन निर्माण कार्य अलपत्र परेको हो ।

लालबन्दी नगरपालिका–८ मा कूल दुई करोड १२ लाखमा लोकवीर बेताली, पाँच कुमारी जेभी काठमाडाँैले लालबन्दी नगरपालिकाको दुईतले भवन निर्माणका लागि काम गर्ने सहमतिमा ठेक्का पारेकोे थियो । विसं २०७२ असार ७ गते भएको सम्झौताअनुसार २०७५ असार मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने सहमति भएकामा सो मिति गुज्रिएको करीब डेढ वर्ष पुग्न लाग्दा पनि भवन निर्माण कार्य अलपत्र भएको नगरपालिका–८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले नियन्त्रणमा लिएको बताउनुभयो ।

भवन निर्माणको काम छोडेर बेपत्ता भएको ठेकेदार कम्पनीले पटकपटक गरी कूल रु ९७ लाख रकम लागिसकेको छ । ठेकेदार कम्पनीले २०७२ असोज १७ मा रु ४२ लाख पेश्की लिएको थियो । त्यसपछि २०७२ पुस २७ मा रु ४३ लाख २८ हजार ८३५ र २०७२ फागुन ३० मा रु ११ लाख ७१ हजार १६५ बुझेको नगरपालिकाले जनाएको छ ।

अलपत्र रहेको भवन निर्माणको काम शुरु गर्न पटकपटक पत्र काटे पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सेनाले बताउनुभयो । ठेकेदारले जमानत राखेको भनेको रु ४२ लाख बैंकको रेकर्डमा नभेटिएको भनेर बंैकबाट नगरपालिकामा पत्र आएको उहाँले बताउनुभएको छ । उहाँका अनुसार काम शुरु गर्न र जमानतको रकम बैंकमा जम्मा गर्न आफूहरुले पटक–पटक पत्राचार गरे पनि ठेकेदार कम्पनी सम्पर्कमा आएको छैन ।

नक्कली कागजात पेश गरी रकम लिएर फरार रहेको भन्दै नगरपालिकाले ठेकेदार कम्पनीविरुद्ध जिल्ला अदालत सर्लाही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि मुद्दा दायर गरेको छ । ठेकेदार कम्पनीलाई कार्वाहीका लागि २०७२ फागुन ३० गते प्रहरीमा समेत उजुरी परेको नगरपालिकाले जनाएको छ । अख्तियारले मुद्दाको टुङ्गो नलागेसम्म अधुरो रहेको भवन निर्माणको काम अगाडि नबढाउन निर्देशन दिएको वडा नं ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले बताउनुभयो ।

ठेकेदारले काम गरेकोभन्दा २५ प्रतिशत बढी भुक्तानी लगेकोसमेत मूल्याङ्कन गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । नगरपालिका÷नगर कार्यपालिकाको बैठकले अधुरो अवस्थामा रहेको भवन नजीकै अर्काे नयाँ भवन बनाउने निर्णय गरेको छ । पहिलो भवन निर्माण हँुदा पनि नगरपालिकालाई भवन नपुग्ने भन्दै अर्काे भवन निर्माणका लागि ठेक्कासमेत लागिसकेको नगरपालिकाले जनाएको छ ।

नयाँ भवन निर्माणका लागि आर्थिक वर्ष २०७६÷७७ बाट भुक्तानी गर्ने गरी रु एक करोड १० लाख बजेटको व्यवस्था गरी ठेक्का लगाइएको वडाध्यक्षले बताउनुभयो । नगरपालिकाको नयाँ भवनका लागि विभिन्न १९ वटा ठेकेदार कम्पनीले ठेक्का हालेकामा हिना कन्स्ट्रक्शनलाई रु ७१ लाखमा ठेक्का परेको उहाँले जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा भवन निर्माण कार्यमा लागेको रोकावट फुकुवाका लागि अनुरोध गरिएको नगरपालिकाले जनाएको छ । आफूहरुले अहिले सेवा दिइरहेको भवनमा पर्याप्त कोठा नहँुदा काम गर्न असहज भएकाले सेवाग्राहीको गुनासो आउने गरेको नगर प्रमुख मानबहादुर खड्काले बताउनुभयो । नगरपालिकाको भवन निर्माणका लागि स्थानीयवासी रामबहादुर श्रेष्ठले पाँच कट्ठा जग्गा २० फिटको बाटो काटेर दान गर्नुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ कलाकार हरि विष्टले गरे जन्मदिनका दिन ५१ हजार सहयोग

गोङ्गबु नयाँ बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न महिला र पुरुष गरि ७३ जना पक्राउ