प्रदेश नं ५ को राजधानी बारे चर्को बहस : राजधानी दाङ की बुटवल ?

रुपन्देही – प्रदेश नं ३ को राजधानी र नामाकरणको टुङ्गो लागेसँगै प्रदेश नं ५ को राजधानीको विषयले चर्चा पाएको छ । प्रदेश नं ३ को राजधानीको नाम वाग्मती र राजधानी हेटौँडा रहने प्रस्ताव प्रदेशसभाले आइतबार पारित गरेपछि प्रदेश नं ५ को राजधानीबारे चर्को बहस शुरु भएको छ ।

प्रदेशसभाको पहिलो बैठकले राजधानी रहने स्थान र नामकरण गर्ने संवैधानिक प्रावधान रहे पनि प्रदेश नं ५ मा भने अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । आगामी माघ ५ गतेदेखि शुरु हुने प्रदेशसभाको पाँचौँ हिउँदे अधिवेशनले प्रदेशको नामाकरण र राजधानीको विषय टुङ्गो लगाइने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो ।

“लामो समय भएका कारण राजधानीको विषयले चर्चा पाउनु स्वभाविक हो”, आज बुटवलमा आयोजित साक्षात्कारमा ढकालले भन्नुभयो, “प्रदेशसभाको पाँचाँै अधिवेशनबाट यसको छिनोफानो हुन्छ ।” प्रदेशसभाबाट गठित राजधानी विशेष समितिले प्रतिवेदन बुझाइसकेका कारण अबको प्रदेशसभाको बैठकमा प्रतिवेदनमाथि छलफल हुने उहाँले बताउनुभयो ।

प्रदेशका जनतालाई पायक पर्ने र जनताको भावनाको कदर हुने हिसाबले प्रदेशसभाले राजधानीको विषय टुङ्गो लगाउने प्रमुख सचेतक ढकालले बताउनुभयो । “अहिले राजधानी तय गर्दा हाम्रा सन्ततिले पनि हामीप्रति गर्व गर्ने किसिमले निर्णय गर्नुपर्छ”, उहाँले भन्नुभयो । राजधानीका विषयमा पार्टीमा छलफल भए पनि ह्वीप भने नलाग्ने प्रमुख सचेतक ढकालले स्पष्ट पार्नुभयो ।

उहाँले दलभित्रको एकता मात्र नभई प्रदेशसभाभित्रको एकताका लागि राजधानी र नामाकरणको टुङ्गो लाग्न ढिलाइ भएका कारण अब प्रदेशसभाबाट एकताकै आधारमा तय हुने बताउनुभयो । राजधानी विशेष समितिले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने विषयमा प्रदेशका १२ वटै जिल्लामा पुगेर जनताको राय–सुझाव लिएको छ । समितले प्रतिबेदन बुझाइसकेकाले अबको प्रदेशसभाको बैठकमा प्रतिवेदनमाथि छलफल हुने नेपाली काँग्रेसका सचेतक तथा विशेष समितिका सदस्य निर्मला क्षेत्रीले बताउनुभयो ।

स्थायी राजधानी र नामाकरणका लागि भनेर नै प्रदेशसभाले विशेष समिति गठन गरेकाले समितिले दिएको सुझावका आधारमा राजधानी र नामाकरणको टुङ्गो लाग्ने उहाँको भनाइ छ । अब नयाँ ठाउँमा राजधानी बनाउँदा प्रदेशले आर्थिकभार थेग्न नसक्ने भएकाले अस्थायी मुकामलाई नै स्थायी बनाउन राम्रो हुने उहाँको सुझाव छ । “राजधानी तोक्न धेरै ढिलो हँुदा जनतामाझ जान लाज भएको छ, अबको बैठकबाटै यसको टुङ्गो लगाउनुपर्छ”, उहाँले भन्नुभयो । लुम्बिनी नामाकरणका विषयमा भने विवाद नभएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रदेशको राजधानी रुपन्देही र नामाकरण लुम्बिनी नै राख्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने समाजवादी पार्टीको सुझाव छ । गौतम बुद्धको पवित्र भूमि भएका कारण यही ठाउँमै राजधानी राख्नुपर्ने समाजवादी पार्टीका प्रमुख सचेतक सन्तोष पाण्डेको तर्क छ । प्रदेशको राजधानीका लागि रुपन्देही नै उपयुक्त रहेकाले अन्य ठाउँबारे बहस गर्नु नै आवश्यक नभएको सचेतक पाण्डेको भनाइ छ । प्रदेशसभाका ८७ सदस्यले राजधानी र नामकरण गर्नेछन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

पश्चिमी वायुको नेपालमा प्रभाव : कस्तो रहला बिहिबार सम्मको मौसम ? यसो भन्छन् मौसमविद्

ह्वात्तै घट्यो प्याजको मूल्य, केजीमा पुग्यो १०० रुपैया