घोसखोलाका विद्यार्थीलाई विद्यालय पुग्नै समस्या

दाङ राप्ती गाउँपालिका–९ घोसखोलाका वीरेन्द्र गाहा जङ्गल र पहाडै पहाडको तीनघण्टा बाटो हिँडेर विद्यालय पुग्नुहुन्छ । गाउँमा विद्यालय नभएपछि उहाँ बङ्गलाचुली गाउँपालिका–३ भेडाबारीस्थित मुलाबारीमा रहेको माध्यामिक विद्यालयमा पुग्नुहुन्छ । उहाँलाई जस्तै बङ्गलाचुली–५ रोकिनेडाँडाकी जानकी गाहालाई पनि आधारभूत तहको शिक्षा लिन दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ । कक्षा ९ मा अध्ययनरत उहाँलाई विद्यालय पुग्न करिब दुई घण्टा हिँड्नुपर्छ । उहाँले भन्नुभयो ,“पढ्नलाई रहर छ , भौगोलिक कठिनाइले पनि उत्तिकै समस्या छ ।” टाढाका विद्यार्थीलाई विद्यालय बाहेक घरमा पढ्न समय नै नहुने गरेको शिक्षक वीरेन्द्रकुमार न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार शिशु कक्षादेखि १२ सम्म करिब छ सय ७० विद्यार्थीले अध्ययन गर्ने सो विद्यालयमा आधाभन्दा बढी विद्यार्थी दैनिक एक घण्टाभन्दा बढी हिँडेर आउँदछन् । प्रधानाध्यापक खगराज लम्सालले विद्यालयमा बङ्गलाचुली गाउँपालिका–३, ४ र ८ , घोराही उपमहानगरपालिका–१ र राप्ती गाउँपालिका–९ का बालबालिका पढ्न आउने गरेका जानकारी दिनुभयो । टाढाबाट आउने विद्यार्थी ढिला गरी विद्यालय आउने, थकाइ लाग्ने छिट्टै भोकाउने समस्याले पठनपाठनमा समस्या हुने गरेको शिक्षक बताउँछन् । यस्तै राजपुर गाउँपालिका– ३ करङगा निवासी तारा पुन पनि दुई घण्टा बढी हिँडेर खरदरीयामा रहेको विद्यालयमा पढन् जाने गर्नुहुन्छ । घर नजिकैको विद्यालय कक्षा पाँचसम्म मात्रै भएका कारण उहाँ जस्तै धेरै विद्यार्थीलाई टाढा रहेको विद्यालयबाट शिक्षा लिन सकस हुने गरेको छ । जङ्गलको बाटो भएका कारण विद्यालय जाने समयमा साथी भएमात्रै जान सकिने ताराको भनाइ छ ।

हिउँदमा विद्यार्थी घर आइनपुग्दै झमक्क साँझ पर्ने तथा बर्खामा पहिरो, खोला बाढीका कारण अभिभावकको मनमा आफ्ना बालबालिका घर आइनपुगुञ्जेलसम्म डर रहिरहने गरेको अभिभावक बताउँछन् । विभिन्न समस्या हुँदाहुँदै पनि नजिकै विद्यालय नहुँदा टाढाका विद्यालयमा बालबालिकालाई घण्टाँै हिँडाएर पठाउनुपर्ने बाध्यता रहेको छ । सरकारले बर्सेनि सुलभ र सहज तरिकाबाट बालबालिकालाई शिक्षा उपलब्ध गराउन विभिन्न कार्यक्रम तथा नारा तय गर्ने गरेको छ । तर ग्रामीण क्षेत्रका बालबालिकाका लागि ती नारा नारामै सीमित बन्ने गरेका छन् । उनीहरूका लागि आधारभूत तहको शिक्षा आर्जनका लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

दन्त उपचारमा डिजिटल स्क्यानर प्रविधि

नागरिकता विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवा दुखित