मध्यविन्दुको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कृषि र पर्यटनलाई प्राथमिकता दिनेगरी नीति तथा कार्यक्रम ल्याएको छ । नगरप्रमुख भीमलाल अधिकारीले आज दशौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको कृषि तथा पर्यटन विकाससँगैै नगर गौरवको आयोजनासम्मलाई प्राथमिकतामा राखिएको बताउनुभयो । अधिकारीले मध्यविन्दु नगरपालिकाको कोल्हुवालाई कृषि तथा पर्यटकीय केन्द्र, वडा नं १३ र १४ लाई इको भिलेज तथा जडीबुटी उत्पादन केन्द्र, अरुणखोलालाई व्यापारिक केन्द्र तथा चोरमारालाई शैक्षिक तथा प्रशासनिक केन्द्रको रुपमा विकास गर्दै सबै वडालाई समृद्ध बनाउने गरी नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो । विषयगत रुपमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा प्रत्येक वडामा दुई÷दुईजना अगुवा किसानलाई स्रोत किसानको रुपमा तालिम प्रदान गर्ने, कृषि एम्बुलेन्स सञ्चालन, कृषि पकेट र जोन कार्यक्रम, बीउबिजनमा आत्मनिर्भर नगर निर्माणको लागि अनुदान लगायतको कार्यक्रम समेटिएको अधिकारीले बताउनुभयो । नगरपालिकाले दुग्ध उत्पादक किसानलाई दूधमा दिँदै आएको अनुदान रकमलाई शतप्रतिशत वृद्धि गरी प्रतिलिटर रु दुई पु¥याइएको छ भने उन्नत जातका पशुपालनको लागि विशेष कार्यक्रम समेटिएको अधिकारीले बताउनुभयो ।

नगरपालिकाभित्रका सबै कृषि तथा पशुसम्बन्धी प्राविधिकको प्रोफाइल तयार गरी किसानलाई प्राविधिकबाट घरमै पुगेर सेवा प्रदान गर्ने व्यवस्था मिलाउने नगरप्रमुखले बताउनुभयो । कृषि उत्पादनको वृद्धिको लागि सबै स्थानमा सिँञ्चाइको सहज पहुँच पु¥याउने कार्यक्रम समेटिएको छ । नगरपालिकाको आर्थिक विकासको लागि उद्योग स्थापनाको वातावरण तयार गर्न नगरमा सम्भाव्य लगानीका क्षेत्रको पहिचान गरी लगानीको लागि नीजि क्षेत्रलाई आह्वान गर्ने कार्यक्रम समेटिएको छ । नगरपालिकाको नारायणी नदीतटीय क्षेत्रदेखि राकाचुँली क्षेत्रसम्मलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । होमस्टे (घरबास) सञ्चालन, इको भिलेज, सांस्कृतिक कला केन्द्र स्थापनालगायतको कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ । मध्यवर्ती क्षेत्रमा जीप सफारी, पहाडी क्षेत्रमा पदमार्ग निर्माण गर्ने योजना नगरपालिकाको नीति तथा कार्यक्रममा रहेको छ । नगरपालिकाको समग्र शैक्षिक विकासको लागि नगर शैक्षिक सुधार कार्यक्रम लागू गर्ने, कक्षा ५ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सबै किसिमका पाठ््यपुस्तक निःशुल्क उपलब्ध गराउने कार्यक्रम शिक्षातर्फ समावेश गरिएको छ ।

असल अभिभावक कार्यक्रम, घर नै पहिलो पाठशाला, मेरो गुरु दक्ष गुरु, मध्यविन्दु छात्रवृत्ति कार्यक्रम, विद्यावारिधि गर्ने नगरवासीलाई रु ५० हजार अध्ययन अनुदान, शिक्षक, अभिभावक र विद्यार्थीलाई स्वदेश तथा विदेश शिक्षण भ्रमणलगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ । स्वास्थ्यतर्फ चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा विकास गर्ने, घरमा शून्य सुत्केरी कार्यक्रम, माझी मुसहर परिवारलाई निःशुल्क स्वास्थ्य बीमा लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ । नगरपालिकाको दीर्घकालीन योजनामार्फत नगरको समग्र विकासको लागि नगर गौरवको आयोजना, वडा गौरवको आयोजना, नगर केन्द्रदेखि वडा केन्द्रसम्म पक्की सडक लगायतका कार्यक्रम पूर्वाधारतर्फ समेटिएको छ भने मध्यविन्दु ७, ८ र १० मा व्यवस्थित सहर र अन्य वडामा मोडल गाउँको अवधारणा नीति तथा कार्यक्रममा आएको छ । यस्तै गिरुबारी खोला र अरुणखोलामा तटबन्ध निर्माण गरी करिडोर निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरभित्रका महिला तथा दलित जनजाति समुदायमा रहेको सीपलाई उद्यमसँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने योजना नीति तथा कार्यक्रममा उल्लेख छ । महिला सीप विकास, अपाङ्गता भएका व्यक्तिको लागि विशेष कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, बालमैत्री नगर निर्माण, दलित उत्थान कार्यक्रम, जनजाति विशेष कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

त्यस्तै, युवा स्वरोजगार, युवा स्वयंसेवक गठन कार्यक्रम समेटिएको छ भने नगरभित्रका विभिन्न रङ्गशालाको स्तरोन्नति, नियमित खेल सञ्चालन नीति तथा कार्यक्रममा आएको छ । विपद् व्यवस्थापनमा युवा स्वयंसेवक परिचालन, विपद् व्यवस्थापन कोष स्थापना, दीर्घकालीन तटबन्धको लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय कार्यक्रम नीति तथा कार्यक्रममा आएको छ । एक वन ः एक वन वाटिका, सामुदायिक वन विकासको साझेदार, गरिबी निवारण, फोहर व्यवस्थापन, खानेपानीको सुनिश्चितता, भूमिसम्बन्धी समस्या सामाधानलगायतका विषय नीति तथा कार्यक्रममा समेटिएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।दशौँ नगरसभाका कार्यक्रममा नगर उपप्रमुख पूर्णकला चौधरीेले नगरपालिकाको आगामी बजेटमार्फत जनताको अपेक्षा पूरा गर्नेतर्फ आफू क्रियाशील रहेको बताउनुभयो । मध्यविन्दु नगरपालिकाको दशौँ नगरसभा अन्तर्गत दोस्रो बैठक असार १० गते बस्ने छ । सो बैठकमा नगरपालिकाको बजेट प्रस्तुत हुने प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

आसन्न निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति हुन्छ : अध्यक्ष दाहाल

बालबालिका र महिलालाई सूचना, सञ्चार प्रविधिबारे सचेतना