पुस्तक समीक्षाः पत्रकारका साहित्यमा मातृभूमि र महामारी

गोरखापत्र संस्थानबाट साढे दुई वर्षअघि उमेरहदबाट अनिवार्य अवकाशप्राप्त रामेछापका गान्धीराज काफ्लेले गत वर्ष एकै पटक दुई कृति लिएर आउनुभयो – एक कविता र अर्काे निबन्धसङ्ग्रह । संस्थानबाट प्रकाशन हुने ‘द राइजिङ नेपाल’ का नायब कार्यकारी सम्पादक काफ्ले आफ्नो पत्रिकामा नियमित रुपमा समसामयिक लेखरचना त लेख्नुहुन्थ्यो नै, सँगसँगै सिर्जनशील रूपमा कविता र निबन्ध पनि लेखी पत्रपत्रिकामा प्रकाशन गर्नुहुन्थ्यो । यसअघि उहाँका ‘मुक्तिवेगका नायक’ (कवितासङ्ग्रह, २०४७), ‘आस्था र अभिमत’ (निबन्धसङ्ग्रह, २०६५) र ‘शब्दको ऐनामा महाभूकम्प’ (निबन्धसङ्ग्रह, २०७२,७३)) प्रकाशन भइसकेका छन् ।

पछिल्लो पटक ओरिएन्टल पब्लिकेसन हाउस प्रालिबाट प्रकाशित ‘मेरो सालु मेरो रामेछाप’ (कवितासङ्ग्रह, २०७८) र ‘मास्क एन्ड मिजरिज’ (अङ्ग्रेजी निबन्धसङ्ग्रह, २०७८ )ले उहाँको लेखकीय निरन्तरतालाई पुष्टि गरेका छन् । जागिरबाट अवकाशपछि लगत्तै सल्केको कोरोना महामारीले मन्थली–४ का उहाँलाई सिर्जनशील रचना रच्न प्रशस्त समय दियो र दुइटा सङ्ग्रह एकैचोटि ल्याउन उहाँ सफल हुनुभयो ।

बोलीवचनमा अत्यन्त मितव्ययी र मृदुभाषी ६० वर्षीय काफ्ले बेलाबेलामा पत्रिकामा छापिन मन पराउनुहुन्छ तर हल्लाखल्लाबाट टाढै बस्नुहुन्छ । भोग्य–सगुन राष्ट्रिय पत्रकारिता पुरस्कार (गोप, २०७१) र गोरखापत्र पत्रकारिता पुरस्कार (गोप,२०७४) बाट पुरस्कृत उहाँले हालै बिडी त्यागी योगदान सम्मान (बिडी त्यागी स्मृति केन्द्र, २०७९) पनि प्राप्त गर्नुभएको छ ।

त्रिचालिस वर्षअघि प्रवेशिका परीक्षा उत्तीर्णपछि सालु, च्याउकेठाँटीबाट राजधानी पस्नुभएका लेखकलाई सानैमा देवकोटा, सम आदिका रचना पढ्दाका क्रममा साहित्यमा रस बसेको थियो । त्यसैले पत्रकारितामा संलग्न भए पनि उहाँले कविता र निबन्धलेखनबाट आफूलाई टाढा राख्न दिनुभएन । बाल्यकालमा मोटोघाटो काफ्ले हाल भने महात्मा गाँधीजस्तै कृशकाय(४५ केजी) बन्नु साहित्यप्रतिको एकोहोरो लगावले पनि हो कि भन्न सकिन्छ । भारतमा पढाइ र कामका लागि जानुभएका हजुरबुवा भोजराजलाई महात्मा गाँधीको प्रभाव पर्नु स्वाभाविकै थियो र उनको सिद्धान्त र आन्दोलनले लेखकका बुवा खेतराजलाई छोयो र उहाँबाट नै गान्धी नाम पाउनुभयो । महात्मा गाँधीको अहिंसा र कमलो भाव रामेछापमा जन्मनुभएका लेखक गान्धीका काव्य र निबन्धमा पनि प्रशस्त प्रतिविम्बित भएका छन् । यसअघि प्रकाशित उहाँको लघुकाव्य ‘मुक्तिवेगका नायक’ मा सबै युगमा एउटा न एउटा आशालाग्दो नेता जन्मने र आशाको दियो जलाउने भाव प्रकट गरिएको छ । जननेता बिपी कोइरालालाई हृदयमा राखेर लेखिएको सो काव्यमा उनलाई मुक्तिको वेगका रूपमा प्रतिविम्बन गरिएको छ ।

जन्मभूमिप्रति प्रेम

जम्मा ५२ पृष्ठमा १५ कविता अटाएको प्रस्तुत समीक्ष्य काव्यसङ्ग्रह भने नामैले जन्मभूमिको मायाले भरिपूर्ण छ । जागिरको अवकाशअघि ‘सालु, मेरो सालु ! ’(गोप, २०७०, सङ्ग्रहमा भने परिमार्जन र शीर्षक फेरिई ‘मेरो आफ्नै परिभाषा) लेखेर जन्मभूमिप्रति उच्च प्रेम पोखिसकेका कविले अवकाशपछि १४ कविता र निबन्ध (पहिले अप्रकाशित) लेखी सङ्ग्रहका रूपमा ल्याउनुभएको हो । कसैले भनेका छन्, “हरेक लेखकले आफ्नो बाल्यकाल र जन्मस्थान आफ्नो कृतिमा ल्याएकै हुन्छ ।” हुन पनि हो, कवि–लेखकलाई आफ्नो बाल्यकाल, जन्मेहुर्केको स्थलको स्मृतिले सधैँ पछ्याइरहेकै हुन्छ । आफ्नो लेखनीमा आफ्नो जन्मस्थल(हुर्केको ठाउँ पनि)बारे नलेख्ने कमै होलान् । त्रेतायुगमा राम पनि आमा र जन्मभूमि स्वर्गभन्दा ठूला हुन्छन् (अपि स्वर्ण मयी लंका, न मे लक्ष्मण रोचते । जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी) भनेर लङ्का राज्य विजयपछि जन्मभूमि अयोध्या नै फर्केर आए, जुन प्रसङ्ग वा श्लोक संस्कृत साहित्यको उच्चस्तरको मानिन्छ । कविशिरोमणि, महाकवि, राष्ट्रकवि, युगकविका साथै कवि भूपि शेरचन, लेखक रमेश विकल आदि पनि त्यस्ता लेखक–कविका केही उदाहरण हुन् । पत्रकार काफ्ले पनि यसमा अछुतो रहनुभएन । उहाँ भन्नुहुन्छ,

कवि सालु, रामेछापलाई शिरको टोपी जस्तै, मन्दिरको गजुर जस्तै सबै तीर्थको तीर्थ, पवित्र, लक्ष्यको सीमाहीन उचाइ र अति प्रिय मान्नुहुन्छ, अनि ‘रामेछापको सालु नपुगी, फेदी भेटिन्न मेरो परिचयको’ भन्नुहुन्छ । उहाँ आफ्नो भावनाको स्रोत आफ्नो जन्मभूमि रामेछाप, सालु नै भएको जनाउँदै आफ्नो अस्तित्व र परिचय तिनमै खोज्नुहुन्छ र आफ्नो यो परिचय कहिल्यै परिवर्तित नहुने ठान्नुहुन्छ । ‘जीवनको गहनता बुझ्न र गाँठी कुरा इमान नछाड्न’ तथा दृढ भएर हिँड्न, चरित्र राम्रो बनाउन र असल कर्म गरी नाम राख्न आफूलाई सालु, रामेछापले नै दिएको कवि ठोकुवा गर्नुहुन्छ । बाधाव्यवधान र पछौटेपन छाडेर आफ्नो जन्मभूमि अब रोजगारी र शान्तिका साथ प्रगति–विकास–उन्नति शिखरमा पुग्नुपर्ने औँल्याउँदै उहाँ तर विकास बाटो, मोटरगाडी, कारखाना, उद्योगमा नभएर शान्त प्रकृतिमा नै भेटिने बताउनुहुन्छ । कविले यहाँ रामेछापका सुपुत्र शहीद गङ्गालाल श्रेष्ठलाई पनि सम्झनुभएको छ र अन्यायविरुद्ध स्वतन्त्रताका पक्षमा बोल्न–लड्न उनीबाट सदैव प्रेरणा लिइरहनुपर्ने आह्वान गर्नुभएको छ ।

लघुसङ्ग्रहका हरेक कविता खँदिला र रसिला छन् । छोटाछोटा यी कवितामा संस्कृत शब्द भने अत्यधिक प्रयुक्त छ । कविले आफ्नो मातृभूमिको वर्णन गर्दा प्रकृतिलाई बढी सम्झनुभएको छ भने जनजीवनका कुरा कम राख्नुभएको छ । ‘गङ्गालाल’बारे उत्कृष्ट कविता लेख्ने कविले रामेछापकै अर्का ‘लाल’ कृष्णलाल र पुष्पलालबारे भने लेख्न बिर्सनुभएछ । मातृभूमिप्रतिको पे्रमभाव यत्रतत्र दोहोरिएका छन्, तेहोरिएका छन् । संस्कृत व्याकरणका प्रणेता पाणिनिको जन्मस्थल नेपालको अर्घाखाँची मानिए पनि कवि चिप्लिएर ‘पाणिनी हामै्र गुल्मीका’ लेख्नुहुन्छ भने ‘मध्य’ नेपालका ठाउँमा मुद्रा राक्षसको गल्तीले ‘मद्य’ हुन पुगेको छ । त्यस्तै ‘अरु’, ‘रङ्ग’, ‘परिपुरक’, ‘गारो’, ‘तमाकोशी’, ‘कम्ति’ जस्ता केही शब्द अशुद्धि भेटिएका छन् । मातृभूमिलाई माया गर्ने जोकसैले यी कविता पढेमा तिनलाई पनि आफ्ना ठाउँबारे लेख्न हुटहुटी दिन सक्ने क्षमता यस सङ्ग्रहमा पक्कै छ ।

नकाब र दुःखहरू

पत्रकार काफ्लेका अघिल्ला निबन्धमध्ये ‘आस्था र अभिमत’ मा स्वतन्त्रता, ‘ब्रेन ड्रेन’ जस्ता छरिएका विषय थिए भने ‘शब्दको ऐनामा महाभूकम्प’ चाहिँ ‘गोरखा भूकम्प’बाट जन्मेको डर, घर जस्ता संरचना बनाउँदा मापदण्डको कमी, सुरक्षा आदि विषयमा केन्द्रित छ । प्रस्तुत अङ्ग्रेजी निबन्धसङ्ग्रह ‘मास्क्स एन्ड मिजरिज’ पनि भूकम्प जस्तै कोरोना भाइरसको महामारीमा मात्र सीमित छ ।

निबन्धसङ्ग्रहमा रहेका दश रचनामध्ये एकमा भने आफ्नो अति नै कविताप्रेम छुटाउन नसकेका कारण यी कवि–लेखकले कविता पनि पारेरै छाड्नुभएको छ । महाव्याधिपछि मानिसहरूमा रहेको जीवनप्रतिको प्रेम, स्वास्थ्यकर्मीको कामको प्रशंसा, रोगप्रति विज्ञानको मौनता र मानिसले खोपलगायत औषधि प्राप्तिमा गरेको आशा, विश्वमारी सङ्कट युद्धतुल्य भएको विचार, वैदेशिक रोजगारीमा गएका नेपालीले भोगेको दुःख, मिडियाले खेलेको भूमिका, रोग प्रतिरोध क्षमता, यसबारेका तथ्यतथ्याङ्क र मानिसहरूका धारणा आदि विषयलाई मसिनोसँग निबन्धहरूमा समेटिएको छ । हुन पनि उहाँले ‘लकडाउन’को समय घरमै ‘आइसोलेशन’मा बसेर सधैँजसो कोभिड–१९ सम्बन्धी घटना, समाचार र विचारहरू रेडियो, टेलिभिजन र छापा समाचारपत्र अध्ययन गरेरै बिताउनुभयो र वैश्विक महामारीबारे राम्ररी ‘अपडेट’ हुनुभयो । त्यसैले यी निबन्ध समयका दस्ताबेज पनि हुन् र यी भविष्यमा अध्ययनअनुसन्धानका लागि महत्त्वपूर्ण साबित बन्ने छन् ।

अत्यन्त सरल भाषामा र सामान्य अङ्ग्रेजी भाषासँग परिचित पाठकले पनि यिनलाई बुझ्न सक्नेछन् । कवितामा जस्तै यिनमा पनि लेखकले धेरै कुरा दोहो¥याई दोहो¥याई भनिरहेका छन् । एकै विषयमा लेख्दा त्यसो हुनु स्वाभाविक पनि हो । लेखकबारे बुझ्न तथा हाम्रो भूगोल र समयबारे परिचित हुन उहाँका दुवै रचनाले पाठकलाई सहयोग गर्नेछन् भन्ने विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

मोरङमा निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना लागू