मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट अगस्तदेखि तेल भित्र्याउने गरी तयारी थालिएको छ।पाइप लाइनको पहिलो चरणअन्तर्गत पाइप गाड्ने, मुख्य लाइन टेस्टिङ, पाइप क्लिनिङलगायत काम सकिएको छ।
अहिले तेल ल्याउन टेस्टिङको तयारी भइरहेको नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । ‘अटोमेटिक उपकरण सञ्चालन गर्न गाडिएको केबल टेस्टिङको काम भइरहेको छ,’ उनले भने । यो खबर आजको कान्तिपुर दैनिकमा वीरगञ्जबाट पवन यादवले लेखेका छन्।
भारतको मोतीहारीमा पम्पिङ हाउस निर्माण नहुँदासम्मका लागि भारतको पटना–सिवान–मोतीहारी हुँदै सिधा अमलेखगन्ज तेल भित्र्याउने काम अघि बढेको गोइतले बताए । भारतले अत्यधुनिक पम्पिङ हाउस मोतीहारीमा निर्माण गरिरहेको छ।
नेपाल भित्र्याइने तेलको रिसिभिङ डिपो अमलेखगन्ज र पम्पिङ डिपो भारतको मोतीहारीमा रहनेछ । मोतीहारीको पंपिङ हाउस सञ्चालनमा नआउन्जेलसम्मका लागि सिधैं पटना–सिवान–अमलेगन्जसम्म पाइप जडान गरी तेल भित्र्याउने तयारी गरिएको आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए।
‘पाइप लाइनबाट तेल भित्र्याउन अटोमेटिक कन्ट्रोल रुम निर्माण गरिन्छ,’ उनले भने, ‘कम्युटरको माध्यमले स्वचालित उपकरणलाई थोरै जनशक्तिमा कन्ट्रोल गर्न सकिन्छ।’ यो उपकरण नयाँ हो । नेपालमा पहिलोपटक अभ्यास गरिँदै छ।
भारतमा यसको प्रयोग भइरहेकाले आफूहरू पनि यसको सफल परीक्षणमा विश्वस्त रहेको यादवको भनाइ छ।
अमलेखगन्जमा पाइप लाइनको तेल भण्डारण गर्न तयारी अवस्थामा राखिएको ४१ सय किलोलिटरका दुईवटा ट्यांकी र ३९ सय किलोलिटरका दुई गरी चारवटा ट्यांकीमा पाइप लाइनको भल्भ जडान गर्ने काम चलिरहेको मोतीहारी–अमलेखगन्ज पाइप लाइन परियोजना कार्यालयका इन्जिनियर शरद पौडेलले जानकारी दिए।
Comments
0 comments