हिजोका सुन तस्कर सुन्धाराको कारागारमा छन् : मुख्य सचेतक भट्टराई

काठमाडौं, १९ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा दलका मुख्य सचेतक खिमलाल भट्टराईले सरकारले तस्करहरुको हरेक ढोका बन्द गरिएको भन्दै हिजोका सुन तस्करहरु पनि अहिले सुन्धाराको केन्द्रीय कारागारमा रहेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै मुख्य सचेतक भट्टराईले अहिले मुलुकका हरेक क्षेत्रमा समस्या रहेकाले तत्काल सोच जस्तो परिर्वतन सम्भव नभए पनि समाधानका लागि सरकारले प्रयास जारी राखेको स्पष्ट पारेका छन् ।

उनले वर्तमान सरकारले गन्तव्य पहिचान गरिसकेको हुनाले भ्रष्टचारमुक्त नेपाल बनाउने अभियानमा सरकार अघि बढेको र देशमा शान्ति सुरक्षाको बाधक पृथकतावादको अन्त्य भएको बताउँदै अब मुलुकले प्रगतिको बाटो लिने दावी गरेका छन् ।

राष्ट्रियसभामा आज विनियोजन विधेयक, २०७६ अन्तर्गत विभिन्न तीन वटा मन्त्रालयहरुको विभिन्न शिर्षकहरुमा विनियोजित खर्च शिर्षकहरु माथिको छलफलको शुरुमा बोल्दै मुख्य सचेतक भट्टराईले यस्तो बताएका हुन् ।

राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपति कार्यालय माथि विनियोजित खर्च शिर्षकहरुमाथि छलफल जारी रहेको छ ।

जारी छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले हालै ल्याएको बजेट कर्मकाण्डी तरिकाले आएको आरोप लगाउँदै बजेट निर्माण, विनियोजन र कार्यान्वयनको पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् ।

उनले बजेट विनियोजनको सैद्धान्तिक अवधारणा नै गलत भएको भन्दै देशको प्राथमिकताका आधारमा बजेट विनियोजन हुनु पर्नेमा नीतिगत रुपमा नै बजेटमा गम्भिर त्रुटी रहेको समेत आरोप लगाएका छन् ।

बजेट माथिको आजको छलफलमा नेकपा(नेकपा)का सांसद चक्रप्रसाद स्नेहीले सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा एक रुपैयाँमा पनि नछ्ट्याएको भन्दै समग्र राष्ट्रलाई सम्बोधन हुने बजेट नआएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले बजेटले स्वास्थ्यको गुणस्तरलाई ध्यान नदिएको भन्दै अधिराज्यभरका स्थानीय तहका रहेका स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्ति पठाउन सरकारसँग माग गरेकी छिन् ।

राष्ट्रिय सभाको आजको बैठकको शुरुमा भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझीले ‘विनियोजन विधेयक, २०७६ अन्र्तगत रक्षा मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शिर्र्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव समेत प्रस्तुत गरेका थिए ।

राष्ट्रिय सभामा आजबाट विनियोजन विधेयक, २०७६ माथिको मन्त्रालयगत छलफल सकिने भएको छ भने छलफलमा उठेका प्रश्नहरुको भोलिबाट विभागीय मन्त्रीहरुले जवाफ दिनेछन् । सम्बन्धित मन्त्रालयका विभागीय मन्त्रीहरुले भोलि असार २०, २२ र २३ गते जवाफ दिने कार्यक्रम तय गरिएको छ । प्रतिनिधि सभाबाट भने यस अघि नै आ.ब.२०७६÷०७७ लागि सरकारले ल्याएको बजेट पारित भैसकेको छ । सरकारले गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठक मार्फत नयाँ बजेट प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

यस्तो छ आजको सुनको मुल्य, किन्ने होइन ?

‘बुद्ध भारतमा जन्मिएका हुन्’ भनेर पढ्न अस्वीकार गर्दा कलेजबाट निकालिएका थिए धीरज