सहकार्यको नमूना : मकै रोपेर जाजरकोटका पशुपालक कोही पाटनमा कोही खेतबारीमा व्यस्त

मकै रोपेर जाजरकोटका पशुपालक कृषक पाटनमा व्यस्त छन् । भँैसी, गोरु, बाख्रा, भेडा र घोडा लिएर उनीहरु जाजरकोट र जुम्लाको सिमाना रहेको चौथारी पाटनमा व्यस्त छन् । दुहुना भैँसीबाट उत्पादन हुने दूध, घ्यू, दही जुम्लाका विभिन्न गाउँमा लिएर बिक्री गरी राम्रो कमाईसमेत हुने गरेको बारेकोट गाउँपालिका–५ का खड्क शाहीले जानकारी दिनुभयो । घरमा खेती किसानी गर्ने केही मानिस मात्र बसेर पशुपालन गर्न बढी स्थानीयवासी पाटनमा लागेका हुन् ।

त्यस्तै नलगाड नगरपालिका–८ का रामबहादुर बस्नेत डोल्पाको साइकुवारी पाटनमा छन् । यार्सागुम्बा सङ्कलन र यार्सागुम्बा सङ्कलन गर्न आएका सर्वसाधारणलाई दूध, दही बिक्री गरेर राम्रो आम्दानी हुने भएपछि आठ वर्षदेखि त्यहाँ जाने गरेको बस्नेतको भनाइ छ । जाजरकोटका तल्लो क्षेत्रमा चरिचरन नहुने र गर्मी हुने भएपछि सबै पशुपालक किसान पाटनतिर जाने गरेको उहाँले बताउनुभयो ।

वैशाखको अन्तिममा गएका पशुपालक किसान असारको अन्तिममा धान रोप्ने समयमा मात्र आउने र कोही साउनको पहिलो हप्तामा आउने गरेका छन् । वैशाखदेखि असार मसान्तसम्म जङ्गलमा घाँस काट्न प्रतिबन्ध गरिएकाले किसान पशुचौपाया लिएर पाटन जान बाध्य हुने गरेको स्थानीयवासीको भनाइ छ । तीन महीनासम्म बन्द गरेर हुर्किएको घाँसहरु साउन महीनामा मात्र प्रयोग गर्न पाइने स्थानीय सामुदायिक वन समूहको नियम रहेको छ ।

गाउँभरिका पशुचौपायहरु लिएर केही मानिस पाटन जाने गरेका छन् भने केहीले गाउँमा खेती किसानी मिलेर गरी आपसी सद्भाव र एकताको भावना समेट्ने गर्दछन् । बर्खायाममा घोरेटा बाटाहरु भत्किएर अवरुद्ध हुने भएकाले पाटनमा बसेर पशुपालन गर्नु सबैभन्दा राम्रो भएको नलगाड नगरपालिका–११ का प्रेम ध्यारले बताउनुभयो ।

पाटनमा अस्थायी मानव बस्ती निर्माण गरी पशुपालक किसान बस्ने गर्दछन् । हिउँको पानी पगालेर पशुचौपायालाई दिने र आफूहरु खाने गरेको ध्यारले बताउनुभयो । अहिले पाटनमा निगालोको टुसा, घुकेलालगायतका फलहरु खाना पाइने भएपछि निकै रमाइलो हुने गरेको अर्का स्थानीयवासी श्याम डिसीले बताउनुभयो । धान रोप्दा रोपानी (रोप्ने) र (खेतमा गोरुद्वारा खेत हिलामे बनाउने व्यक्ति) हलारीलाई चाहिने घ्यू, तरकारीका रुपमा प्रयोग हुने निगालोको टुसा पाटनबाट किसानको घरमा पुग्ने गर्दछ ।

नयाँ फल खाएर नयाँ खेती गर्ने भन्दै किसान हौसिने गर्दछन् । पाटनमा यो समयमा विभिन्न खालका जडीबुटीसमेत सङ्कलन हुने गरेको छ । पाटनमा रहेका गहिरो भागहरुमा लगाएको आलुले वर्षभरि तरकारी खान र बिक्री गरेर आम्दानी हुने गरेको छ । पाटनमा वर्षौंअघि देखि निर्माण गरिएका (जग्गा) खोरिएमा खेती गरी आलु उत्पादन हुँदै आएको हो ।

जुनिचाँदे गाउँपालिका र कुशे गाउँपालिका स्थानीयवासी आ–आफ्ना लेकमा गएर पशुचौपायाहरु पाल्ने गर्दछन् । सबै परिवारका सदस्यहरु कर्कट सङ्क्रान्ति अर्थात् लुतो फाल्ने दिन साउन १ गते जम्मा भएर रमाइलो गर्ने गर्दछन् । बर्षेनी यहाँका किसान कसले कहाँ गएर काम गर्दा सजिलो हुन्छ, त्यस्तो आधारमा काम रोजेर क्षमताअनुसारको जिम्मेवारी लिने गरेको बारेकोट गाउँपालिका–५ जनकबहादुर शाहीले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अवैधरुपमा पोखरामा बस्दै आएका रुसी नागरिक पक्राउ

३५ हजार फिटमाथि उडिरहेको जहाजबाट यात्रु खसे, आकाशबाट मानिस खसेको देखेर यि ब्यक्तिले जोगाए ज्यान