खाउँ खाउँ लाग्ने स्वादिष्ट भेज मःम बनाउने यस्तो छ सरल तरिका

काठमाडौं । प्रायःसबै मानिसलाई मःम मन पर्छ । मम खाने रेष्टुरेन्ट अथवा मम पसल जाने गर्छन् । तर, मम घरमै बनाएर खान सकिन्छ । आफ्नो स्वाद र अनुकुलमा मम बनाएर परिवारका सबै सदस्यहरु बसेर खान सकिन्छ । मम बनाउन अधिकांश भान्सामै भएका सामान प्रयोग गरिने भएकाले त्यत्ति गाह्रो छैन । मम बनाउन एक कप मैदा, एउटा प्याज, एउटा भेडेखुर्सानी, एउटा गाजर, आधी कप मसिनो गरी काटिएको बन्दाकोपी, एक चम्चा अदुवा र लसूनको पेस्ट, एक चम्चा मरिच, एक चम्चा सोया सस, एक चम्चा चूक अमिलो, स्वादअनुसार नून, अलिकति पानी र काटिएको हरियो धनियाँ आवश्यक पर्छ ।

विधि
सबभन्दा पहिले मैदालाई जालीले छान्नुस् र त्यसमा अलिकति नून हालेर पानीमा मुछ्नुस् । नरम हुन्जेल मुछेपछि त्यसलाई केही बेरका लागि छोपेर राख्नुस् ।
त्यतिन्जेल सबै तरकारीलाई मसिनो गरी काट्नुस् । एउटा कराहीमा तेल तताउनुस् । त्यसमा अदुवा लसूनको पेस्ट हालेर भुट्नुस् । अब यसमा प्याज हाल्नुस् र हल्का खैरो हुन्जेलसम्म भुटिरहनुस् ।

प्याज मज्जाले भुटिएपछि त्यसमा काटिएका तरकारीहरू हाल्नुस् र पाँच मिनेटसम्म फ्राई गर्नुस् । अब यसमा सोया सस, चूक अमिलो, मरिच, नून र हरियो धनियाँ हालेर मज्जाले मिसाउनुस् । अब आगो निभाएर यसमा चिसो हुन दिनुस् । अब मुछिएको पीठोका ससाना डल्ला निकाल्नुस् र पूरी बेले झैं बेल्नुस् । बेलिएको पातलो पीठोमा चम्चाले तरकारीको मिश्रण हाल्नुस् र बन्द गरेर ममको आकार दिनुस् । यसरी नै सबै पीठोको मम बनाउनुस् ।

अब ममको भाँडोमा पानी हाल्नुस् र तताउनुस् । पानी राम्ररी तताएपछि भाँडोको जालीमा सबै मम राख्नुस् र माथिबाट छोप्नुस् । पानीको बाफले मम पकाइदिन्छ । दश मिनेटसम्म बाफ लगाएपछि मम निकाल्नुस् र तात्तातो पस्किनुस् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

चिया किसानद्वारा नाराबाजी सहित नगरपालिका घेराउ

नगर उपप्रमुख अधिकारी प्रमाण–पत्र वितरणपछि सामूहिक तस्वीरमा