काठमाडौं : अरू बेला अन्यत्रै व्यस्त रहने राजनीतिकर्मी असार १५ का दिन खेत–खेतमा पुग्छन्। अनि, मञ्चन गर्छन्, धान रोपाइँको ‘नाटक’। यसपटक पनि उनीहरूले त्यसै गरे। असार १५ को कृषिसँग जोडिएको पवित्र सांस्कृतिक साइनो छ। तर, यसलाई हल्का मनोरञ्जनका रूपमा लिने क्रम बढ्दो छ। तीन सय ६४ दिन किसानलाई वास्ता नगर्ने नेता र अन्य उपल्ला वर्ग एक दिन बडो किसानैजस्ता बनेर हिलोमा डुब्छन्।कृषिप्रधान देशमा किसान सर्वाधिक उपेक्षित छन्। बेलामा मल पाउँदैनन्। सिँचाइ अभाव व्याप्त छ। उन्नत बीउ गाउँमा पुग्दैन। तिनीहरूसामु ठाँटिएर पुगेका नेताहरू बर्सेनि रोपाइँको नाटक गर्छन्।
बाजागाजासाथ आयोजना हुने यस्ता नाटकमा राजनीतिकर्मी मात्रै होइन, मन्त्री, सेलिब्रेटी, कर्मचारी र स्थानीय जनप्रतिनिधि पनि सहभागी हुन्छन्। यो वर्ष पनि यस्तो ‘नौटंकी’ विभिन्न स्थानमा मञ्चन भए। पोखरा महानगर प्रमुख मानबहादुर जीसी पोखरामा, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई गोरखामा, राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ र संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल बर्दियाको राजापुर, राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसी, नेपाल कृषि श्रमिक संघको आयोजनामा चन्द्रागिरिमा, कांग्रेस नेता उदयशमशेर राणा भरतपुरमा, पुष्पकमल दाहालपुत्री रेणु दाहाललगायत तिलोत्तमा, देवदह नगरपालिकासहित दर्जनौं स्थानमा धान रोपाइँको नाटक गर्न पुगे। यो समाचार अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ। समाचार राजेश बर्माले लेखेका हुन्।
यस्ता अचम्म–अचम्मका दृश्य सामाजिक सञ्जालमा आइतबार भाइरल भए। सर्वसाधारणले तिनमा कडा टिप्पणी गरिरहेका थिए।कतै घाँटीमा धानको बीउको लामो–लामो माला लगाएर। कतै बाजा गाजा बजाएर। कतै बाउसे बनेर, कतै हलो जोतेर। कतै खेतमै पसेर रोपाहारसँग हिलो छ्याप्दै ठट्टा गर्दै धान रोपाइँ गरेर।
Comments
0 comments