अत्तरिया चोक सम्मको ‘छ लेन’को सडक दुई वर्षको अवधिमा ४२ प्रतिशत मात्र काम सम्पन्न

धनगढीको मोहनापुलदेखि अत्तरिया चोक सम्मको ‘छ लेन’को सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने दुई वर्षको अवधिमा ४२ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक आयोजनाका प्रमुख होमबहादुर एसीले निर्माण सम्पन्न गरिसक्नुपर्ने समय दुई वर्षको अवधिमा भौतिक प्रगति करीब ४२ प्रतिशत र वित्तीय प्रगति ३१ प्रतिशत भएको जानकारी दिनुभयो । निर्माण कम्पनीसँग दुई वर्षमा उक्त सडक निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । धनगढीदेखि अत्तरिया सम्मको १४ किलोमिटर लामो सडकमध्ये शहरी क्षेत्रमा छ लेन र ग्रमीण क्षेत्रमा चार लेनको सडक निर्माण गर्ने कार्य भइरहेको छ ।

सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा शुरुको अवस्थामा विवाद उत्पन्न भएपछि यो सडक निर्माणकार्य अघि बढाउन ढिलाइ भएको थियो । यस बाहेक साविकको सडक क्षेत्रमा रहेका रुख कटानीमा भएको ढिलाईका साथै गाडिएका बिजुलीका खम्बा सार्नमा भएको ढिलाइले पनि समयमै काम गर्न ढिलाइ भएको थियो ।

निर्माण पूरा गरिसक्नुपर्ने दुई वर्षको अवधि सकिएपछि निर्माण कम्पनीले १५ देखि १८ महीनासम्म निर्माणको अवधि थप्न आग्रह गरेका छन् । निर्माण पूरा गरिसक्नुपर्ने अवधि गत जेठमा सकिएसँगै निर्माण कार्य निकै सुस्त भएको छ । यद्यपि आयोजना कार्यालयका प्रमुख एसीले निर्माण सुस्त नभएको दाबी गर्नुभएको छ ।

तीन प्याकेजमा निर्माण भइरहेको सडकको निर्माणमा लुम्बिनी राजेन्द्र डाँफे, लामा राजेन्द्र डाँफे र शर्मा अमर नागार्जुन निर्माण कम्पनी संलग्न रहेका छन् । “निर्माण व्यवसायीले समय थप्न आग्रह गरेका छन्”, आयोजना प्रमुख एसीले भन्नुभयो, “आवश्यक छानबिन गरेर निर्माणको अवधि थप्नका लागि पहल भइरहेको छ ।” सडक निर्माण कार्य सुस्तगतिमा हुँदा गर्मीयाममा सडक धुलाम्य भएर आवागमन गर्दा सास्ती खेपेका सर्वसाधारणले वर्षायाममा हिलाम्मे हुने र ठाउँ ठाउँमा डुबानको समस्या सिर्जना हुने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशसभाको बैठकको विषेश समयमा बोल्ने सदस्यहरुले उक्त सडक निर्माणमा भइरहेको ढिलाइप्रति बारम्बार ध्यानाकर्षण गराउने गरेका छन् । तर सडक निर्माण कार्यमा तीव्रता आउन सकेको छैन । प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने एक मात्र मुख्य सडकमा दैनिक साना ठूला गरी तीन हजार भन्दा बढी यातायातका साधनको आवागमन हुने गरेको छ ।

निर्माणका क्रममा उक्त सडक खण्डका ठाउँठाउँमा पुराना पुलेसा(कल्भर्ड) भत्काएर नयाँ कल्भर्ट निर्माणाधीन रहेपनि महीनौ भइसक्दासम्म ती पुलेसाको निर्माणको काम पूरा हुनसकेको छैन । सडक आयोजना कार्यालयका प्रमुखको पटक पटकको सरुवाले कामको समयमै रेखदेख एवं निर्माणमा असर पुग्ने गरेको बताइएको छ ।

आयोजना कार्यालय सञ्चालमा आएको गत दुई वर्षमा तीन जना कार्यालय प्रमुख फेरिएकामा चौथो कार्यालय प्रमुखको रुपमा हाल एसी कार्यरत हुनुहुन्छ । यो सडकको लागत ईष्टिमेट रु एक अर्ब ६८ करोडको छ । धनगढी क्षेत्रमा सडक सञ्जालको विकास एवं स्तरोन्नतिका लागि पहिलो पटक यति ठूलो बजेट रकमसहित छ लेन सडक निर्माण कार्य भइरहेको हो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

जेब्रा झोलाभित्र परालले बेरी लुकाएर लादै गरेको अवस्थामा लागुऔषधसहित किशोरी पक्राउ

डिप्रेसनबाट बच्न नियमित सेवन गर्नुहोस् पुदीना, हुने छन् अचुक फाइदै फाइदा