हलियामुक्तिका लागि सूचीकृत भएका जिल्लाका केही हलिया अझै सम्पर्कमा आएका छैनन । सरकारले चालू आर्थिक वर्षमा हलियालाई मुक्त घोषणा गर्ने लक्ष्य राखे पनि हलिया अझै सम्पर्कमा आएका छैनन ।
जिल्लाभरी ४५५ हलिया सूचीकृत भए पनि २० जना हलिया अझै सम्पर्कमा नआउँदा हलिया मुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम प्रभावित हुने देखिएको जिल्ला मालपोत कार्यालयले जनाएको छ । पटक पटक सूचना तथा स्थानीय तहमार्फत हलिया सम्पर्कमा ल्याउन पत्राचार गरिएको कार्यालयका सूचना अधिकारी नरबहादुर ठगुन्नाले बताउनुभयो ।
सम्पर्कमा नआएपछि चालू आर्थिक वर्षमा हलियामुक्त जिल्ला घोषणा गर्न समस्या भएको छ । केह्ी हलिया पहिलो किस्ता लगेर भारततिर मजदुरी गर्न गएको बुझिएको छ । यस्तै अवस्थामा हलिया मुक्त जिल्ला घोषणा कार्यक्रम प्रभावित हुने देखिएको उहाँले बताउनुभयो ।
सम्पर्कमा नआएका हलियालाई लगतबाट हटाउने तयारी गरिएको छ । मुक्त हलियाका लागि जिल्लामा घर निर्माण, मर्मत र जग्गा खरिदका लागि बजेट आएको छ । हलिया मुक्ति कार्यक्रमका लागि हालसम्म रु एक करोड २६ लाख बजेट विनियोजन गरिएको छ । घर निर्माणका लागि रकम लिएकामध्ये १० परिवार जतिको काम सन्तोषजनक देखिएको छैन । (रासस)
Comments
0 comments