भारतमा विष्फोटक पदार्थ विष्फोटन गराउनेदेखि हेभी उपकरण चलाउनेसम्मका काममा नेपाली मजदूर

जाजरकोटका मानबहादुर शाही भारी बोक्ने काम गर्न कालापानी क्षेत्रमा पुग्नुभएको छ । दुई साताअघि काम खोज्दै आउनुभएका शाही अहिले दिनहुँ भारतको घट्टेबगड हुँदै नज्याङ कालापानीसम्म भारी बोक्ने गर्नुहुन्छ । भारी बोक्ने काम गर्ने शाही सडक नभएको क्षेत्र नज्याङ हुँदै छायालेक, बुदि, गब्र्याङ, गुञ्जी कालापानीसम्म दिनहुँ भारी पु¥याउनुहुन्छ । उहाँ भारतीय सेनाका लागि चाहिने आवश्यक खाद्यान्न बोक्ने काममा व्यस्त हुनुहुन्छ ।

नज्याङदेखि कालापानीसम्म भारी पु¥याएबापत उहाँले प्रतिभारी रु पाँच हजार भारतीय पाउनुहुन्छ । तीन हजारदेखि तीन हजार ७०० मिटर उचाइसम्म ४० देखि ५० किलोको भारी बोक्नुपर्छ । गाउँमा काम गर्न नपाएपछि शाही मात्र हैन जाजरकोटबाटै २०÷३० जनाको समूहमा भारी बोक्न यहाँ आएका छन् । “गाउँमा रोजगारी नभएपछि सडक नपुगेको क्षेत्रमा भारी खोज्दै यहाँ आएका हाँै”, लछि साहीले भन्नुभयो, “असार मसान्तसम्म यही क्षेत्रमा भारी बोक्छौँ, उच्च भू–भागमा भारी बोक्नुपर्दा दम लाग्ने समस्या हुन्छ, तर पनि पैसाका लागि भारी बोक्नुप¥यो ।”

भारतले यो क्षेत्रका विभिन्न खण्डमा सडक निर्माणको काम जारी राखेको छ । सडक निर्माणमा प्रयोग हुने उपकरण, व्यापारीका सामानदेखि सुरक्षाकर्मीका सामान बोक्न भरियालाई काम भ्याइ नभ्याइ हुने गरेको बझाङका प्रेम बोहराले बताउनुभयो । “विगतदेखि दार्चुला सदरमुकाममा भारी बोक्ने काम गरिन्थ्यो, यहाँ पनि सडक पुगेपछि काम पाउनै मुस्किल हुन्छ”, उहाँले भन्नुभयो, “त्योभन्दा भारतको यो क्षेत्रमा सजिलै काम पाइन्छ, खलङ्गामा दिनभरी काम खोज्नुभन्दा यहाँ सजिलै बिहानदेखि बेलुकीसम्म काम पाइन्छ, एक दिनमै राम्रो पैसा पाइन्छ ।”

भारत सरकारले कालापानी जाने सडक निर्माणलाई महत्व दिँदै काम गरिरहेको छ । हेलिकोप्टरमार्फत सामान ढुवानी गरेर सडक निर्माणमा तीव्रता दिएको छ । उक्त क्षेत्रका सडकमा काम गर्ने पनि ९० प्रतिशत मजदूर नेपाली छन् । दार्चुला र बाहिरबाट यो क्षेत्रमा सडक निर्माण गर्ने मजदूर कार्यरत छन् । ठाउँ ठाउँमा सडक खन्ने काम भइरहेको छ । विष्फोटक पदार्थ विष्फोटन गराउनेदेखि हेभी उपकरण चलाउनेसम्मका काममा नेपाली मजदूर छन् ।

“आफ्नो देशमा पूर्वाधार क्षेत्रमा काम गर्ने अवसर नै छैन”, मार्मा गाउँपालिका– ६ का लालसिंह धामीले भन्नुभयो, “गाउँमै ठूला आयोजना भइदिएको भए काम गर्न हुन्थ्यो, यहाँ काम गरेको मासिक रु १२ हजार भारतीय पाइन्छ, तर नेपालमा यस्तो काम नै हुँदैन्, आफ्नो देशमा काम गर्न पाइहाले पनि निर्माण व्यवसायीले रकम दिन मान्दैनन् ।”

यस्तै यो क्षेत्रमा सौका समुदायका खच्चड चलाउने पनि नेपाली नै छन् । दैनिक हजारौँ खच्चडमार्फत सामान ढुवानी भइरहेको छ । खच्चडसँग हिड्नेमा अधिकांश नेपाली छन् । सयौँ भरियाले रोजगारी पाएका छन् । यस क्षेत्रमा सामान ढुवानी महङ्गो छ । सडक नहुनु तथा लेक लाग्ने भएका कारण सामान ढुवानी महङ्गो छ । अण्डा प्रतिगोडा २० रुपैयाँ भारु पर्छ । एक भारी सामान ढुवानीवापत रु दुई हजार ५०० देखि तीन हजार भारु ढुवानी लाग्ने गरेको छायालेक तेर्सापानीमा होटल थापेका महाकाली नगरपालिका–२ का केशरसिंह लोथ्यालले बताउनुभयो ।

अहिले पनि आफूहरुले गाउँ फर्किएर काम पाउने अवस्था नभएपछि यही क्षेत्रमा काम गर्ने गरेको व्यास गाउँपालिका डोकटका कल्यानसिंह धामीले बताउनुभयो । “वर्षौ भइसक्यो यही क्षेत्रमा भारी पु¥याएर गुजारा चलाएका छौँ, अहिले पनि दिनहुँ घरबाटै आएर भारी छायालेक, कालापानीसम्म पु¥याउछौँ”, उहाँले भन्नुभयो, “गाउँमा रोजगारीका अवसर आएको हामीलाई केही थाहा छैन, हाम्रो श्रम यही भारतीय माटोमा बगेको छ, परिवार पाल्न यही क्षेत्रको कामले सहयोग पु¥याएको छ ।”(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सविनको शब्दमा अञ्जुको स्वर, ‘गीत तिम्रो’को भिडियो रिलिज

India Missing Mountaineers