बैदेशिक ऋण बढ्दै जानुमा महाभूकम्प पनि प्रमुख कारण : अर्थमन्त्री डा.खतिवडा

काठमाडौं, ८ असार । अर्थमन्त्री डा.युवराज खतिवडाले वैदेशिक ऋण नेपालको उत्पादन, उत्पादकत्व बृद्धि र तीव्र विकासका लागि भएकाले यसबाट कसैले डराउनु पर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । दातृ मुलुकले अब नेपाललाई अविकसित मुलुकबाट अल्पविकसित मुलुकको रुपमा हेर्न थालेको उल्लेख गर्दै अर्थमन्त्री डा.खतिवडाले नेपाल अब दातृ निकायले सधैं अनुदान दिनु पर्ने अवस्थाबाट माथि उक्लिन सफल भएकाले खुशी व्यक्त गर्नुपर्ने बेला आएको पनि बताए ।

अर्थन्त्री डा.खतिवडाले प्रतिनिधि सभाको आईतबारको बैठकमा विनियोजन विधेयक, २०७६ माथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिनेक्रममा यस्तो बताएका हुन् ।

अर्थमन्त्री डा.खतिवडाले आगामी आ.ब.मा सरकारले ६६ अर्ब बैदेशिक ऋण तिर्न लागेको प्रष्ट पार्दै १० वर्ष अघिसम्म मात्र कूल बजेटको १३ प्रतिशत बजेट मात्रै राष्ट्रिय उत्पादनमा लगानी हुने गरेकोमा यसको अवस्था अहिले २५ प्रतिशत रहेको र आगामी आ.व. यो बढेर २८ प्रतिशत हुने हुँदा यो आर्थिक प्रगतिका लागि अत्यन्त सकारात्मक पक्ष भएको पनि बताए ।

बैदेशिक ऋण बढ्दै जानुमा महाभूकम्प पनि प्रमुख कारण रहेको र भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणका लागि पनि बैदेशिक ऋण लिन बाध्य भएको जानकारी दिंदै अर्थमन्त्री डा.खतिवडाले १२ कक्षा पास पनि नगरी नेपालीहरु विदेशमा अध्ययन गर्न जाने परम्पराले गर्दा पनि विदेशी मुद्राको खर्च बढ्न गएको पनि स्पष्ट परेका छन् ।

यसैगरी, आजै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पनि जवाफ दिएका छन् । मन्त्री बस्नेतले गत वर्षको भन्दा पनि यो वर्ष वन मन्त्रालय अन्तर्गत बढि रकम विनियोजन भएको जानकारी दिंदै पहिले प्रदेशहरुको बजेट पनि यसै मार्फत देखिने गरे तापनि यसपालि भने प्रदेशस्तरमा सोझै बजेट दिइएकाले बजेट कम जस्तो देखिएको स्पष्ट पारे ।

उनले सरकारले अब वन पैदावारलाई जोगाउने, जटिबुटी खेती र भण्डारण, वातावरण विनाशलाई रोक्ने गरि आगामी आ.ब.मा कार्ययोजना सहित बजेट ल्याएको बताउँदै विगतमा राजनीतिक स्थायीत्व नहुँदा पनि वनजंगल विनाश भएकाले अब राजनैतिक स्थायित्व कायम भएकाले त्यस्तो नहुने पनि जानकारी दिएका छन् ।

आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफको क्रममा वनमन्त्री बस्नेतले मन्त्रालय वैज्ञानिक वन व्यवस्थापनतिर लागेको जानकारी दिंदै एउटा रुख काट्दा दुईवटा रुख रोप्नुपर्ने व्यवस्था गर्दै जलवायु परिवर्तनलाई ध्यानमा राखेर वातावरण निर्माणका लागि सरकारले विशेष ध्यान दिने पनि स्पष्ट पारेका छन् ।

त्यगरी जवाफका क्रममा महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारले सामाजिक कुरिती र कुसंस्कारको रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि योजनाबद्ध कार्यक्रम अघि सारेको बताएकी छिन् ।

विनियोन विधेयक माथिको छलफलका क्रममा आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफका क्रममा उनले छाउपडी प्रथा निर्मूलका लागि प्रयाप्त बजेट नभएपनि जनताको अधिकतम सहभागितामा उक्त कुप्रथा उन्मुलनका लागि अभियान चलाइने स्पष्ट पारिन् ।

महिलामन्त्री थापाले ज्येष्ठ नागरिकको निम्ति देशका सबै ७५३ स्थानीय तहमा सेवा आश्रम बनाउने उद्देश्य अनुरुप अहिले २०० स्थानीय तहमा बजेट विनियोजन भएको पनि बताइन् ।

समाजिक सुरक्षाको कार्यक्रमलाई प्रभावकारी बनाउँदै, ज्येष्ठ नागरिकको हक, अधिकार सुनिश्चित तथा महिला विरुद्ध हुने सबै प्रकारको हिंसा न्यूनीकरणका लागि बजेटले प्रथामिकता दिएको उल्लेख गर्दै महिलामन्त्री थापाले ज्येष्ठ नागरिकको अधिकार र सुविधाको संरक्षण गरी उनीहरुको ज्ञानलाई युवा पुस्तामा हस्तान्तरण गर्ने लगायतका कार्यक्रम पनि मन्त्रालयले अघि सारेको बताइन् ।

सबै खाले हिंसा पीडित महिलाका लागि विभिन्न प्रदेशमा दीर्घकालीन पुनःस्थापना केन्द्र स्थापना गरिएको उल्लेख गर्दै मन्त्री थापाले घरेलु हिंसा अन्त्यका लागि आगामी आ.ब.मा पर्याप्त सचेतना मूलक कार्यक्रम र अभियानहरु चलाईने पनि बताइन् ।

आजै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पनि आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिएका छन् । प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

यि हुन कुनै समयकी चर्चित नायिका जलशाहकी छोरी कलस, हेर्नुहोस तस्विरहरु

काङ्ग्रेस नेताको नाम हटाइने सहमति भएपछि सात महीनामा चल्यो एम्बुलेन्स