चितवनका चन्द्रप्रसादले राखे ११४ जातको धानको बीउ

प्राङ्गारिक खेती प्रणालीबाट कृषि पेशा गरिरहनुभएका चितवनका चन्द्रप्रसाद अधिकारीले यस वर्ष ११४ जातको धानको बीउ राख्नुभएको छ । अघिल्लो वर्ष ११२ जातको धानको बीउ राख्नुभएका उहाँले यस वर्ष थप दुई नयाँ जातको बीउ राख्नुभएको हो ।चितवनको भरतपुर महानगरपालिका–१५ श्रीपुरका अधिकारीले करीब दुई बिघा क्षेत्रफलमा यो बीउलाई रोप्ने तयारी गर्नुभएको छ । विसं २०६४ मा सात जातको धानको बीउबाट जात बढाउने अभियानमा लाग्नुभएका उहाँले अहिले ११४ जातको पु¥याउनुभएको छ ।

करीब दुई कठ्ठामा एक पाथीका दरले छुट्टाछुटै ड्याङ बनाएर उहाँले गत जेठ २७ मा बीउ राख्नुभएको हो । यो धानको बीउ असार १५ गतेदेखि रोप्ने तयारीमा जुट्नु भएको छ । धान दिवसको दिन कार्यक्रम गरेर उहाँले दुई बिघामा ती धान रोप्ने गर्नुहुन्छ । नेपालका विभिन्न जिल्ला, भारत, बङ्गलादेश र अमेरिकाबाट धानको बीउ सङ्कलन गरेर ल्याएको उहाँले जानकारी दिनुभयो । “अमेरिका र दक्षिण कोरियाबाट पनि धानको बीउ ल्याएँ”, उहाँले भन्नुभयो, “ती धानका बीउ उमार्न सकिएन । नेपालका उच्च भेगमा पाइने धानको बीउ पनि यहाँ उम्रिएन ।”

मार्सी, जुम्ले मार्सी र मार्सी चङ्गोलजस्ता पहाडमा पाइने धान भने उहाँले वर्षेनी रोप्दै आइरहनुभएको छ । रैथाने एवं उन्नत जातका स्थानीय धानलाई संरक्षण गर्न वर्षेनी यो काम गर्दै आइएको उहाँको भनाइ छ । जीवित बीउ बैंकका रुपमा विकास गर्ने चाहना भएको उहाँ बताउनुहुन्छ ।मनसारा, आछामे मसिनो, आँपझुत्ते, सत्तरी, जेठो बूढोलगायतका धान लोप हुने अवस्थामा पुगेको भन्दै उहाँले यसको संरक्षणमा सबै जुट्नुपर्ने बताउनुभयो । उहाँका अनुसार नेपालमा २०० भन्दा बढी धानको जात पाइने र त्यसमध्ये ६० रैथाने र अन्य उन्नत तर अहिले स्थानीय भइसकेका धानको बीउलाई संरक्षण गर्नुभएको छ ।

उहाँले धानको बीउ संरक्षण गर्न निफन्ने, सुकाउने र मुसाले नखाने गरी गोदाममा भण्डारण गर्दै आइरहनुभएको छ । उहाँका अनुसार रैथाने जातका अन्य बालीको संरक्षणमा वार्षिक एक लाखभन्दा बढी खर्च हुने गरेको छ ।अधिकारीले नेपालीहरुमा उन्नत जातको नाममा परनिर्भता बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । “उन्नत जातको धान लगाउने चलन व्यापक छ”, उहाँले भन्नुभयो, “अरुले बीउ दिए उत्पादन गर्न सक्छौँ । नत्र हामीसँग बीउकै कारण कुनै वर्ष भोकै बस्नुपर्ने अवस्था आउन सक्छ ।”

अधिकारीले रैथाने जातका धनलाई संरक्षण एवं प्रवद्र्धन गर्न नेपाल सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । उन्नत जातका बिउ खरीदका लागि वर्षेनी ठूलो रकम बिदेसिने गरेको छ । उन्नत जातका धान केही वर्ष राम्रै उत्पादन भए पनि स्थानीय जातको धानमा पाइने पौष्टिक तत्व त्यसमा नपाइने उहाँको भनाइ छ ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

यस्तो बन्ने छ ‘इन्साल्लाह’मा आलिया र सलमान खानको जोडी

दर्शना महर्जनको राष्ट्रिय गीत ‘हिमाल हाँस्ने मेरो देश’ (भिडियो सहित)