अविरल वर्षाका कारण बिहानैदेखि अवरुद्ध चितवनको भरतपुर–माडी सडक सञ्चालनमा आए पनि माडीदेखि पर्साको ठोरी जोड्ने सडक भने अझै खुल्न सकेको छैन ।इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाका अनुसार ठोरीबाट भरतपुरका लागि छुटेका यातयातका साधन बगई खोला तर्न नसके पनि ठोरीतर्फ फर्काइएको छ । बाढीका कारण सडक बिग्रिएकाले ठोरी–माडी सडक कहिले सञ्चालन हुन्छ भन्ने यकिन नभएको उहाँले जानकारी दिनुभयो ।
बाढीले माडी वडा नं १ को चैनपुर र लक्ष्मुनिया जोड्ने दौजर खोलामा निर्माणाधीन पुलमा क्षति पुगेको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ढलान गर्न तयार गरिएको ट्रस बाढीले भत्काएको उहाँको भनाइ छ । पुल जनश्रमदानसहित रु ६२ लाख ५० हजार लागतमा निर्माण गर्न लागिएको थियो ।
माडी नगरपालिका भएर बग्ने रिउ खोलामा पानीको बहाव उच्च रहेको प्रहरीले जनाएको छ । अझै सिमसिम पानी परिरहेको स्थानीयले बताएका छन् । रिउ नदी खतराको तहमा रहेकाले खोलाका तटीय क्षेत्रमा उच्च सतर्कता अपाउन माडी नगरपालिकाले सर्वसाधारणलाई अनुरोध गरेको छ । दक्षिण चितवनको माडी वर्षेनी बाढीका कारण प्रभावित हुने गर्छ । (रासस)
Comments
0 comments