जनतालाई हाँसेरै सेवा दिनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनतालाई हाँसेर सेवा दिनुपर्ने बताउनुभएको छ । आज कैलालीको टीकापुर नगरपालिकाको पाँचौँ नगरसभा अधिवेशनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री भट्टले हिजोका दिनमा जनतालाई दिने सेवा र अहिले जनतालाई दिनुपर्ने सेवामा परिवर्तन भएको बताउँदै जनतालाई हाँसेरै सेवा दिन आग्रह गर्नुभएको हो ।मुख्यमन्त्री भट्टले भन्नुभयो, “सिंहदरबारको अधिकार संवैधानिकरूपमा गाउँगाउँमा पुगेको भए पनि व्यवहारिकरूपमा अझै आउन सकेको छैन, जनतालाई त्यसको प्रत्याभूति जनप्रतिनिधि तथा कर्मचारीले दिलाउन सक्नु पर्दछ ।”

मुख्यमन्त्री भट्टले जनतासँग प्रत्यक्ष जोडिने योजनालाई निश्चित मापदण्ड बनाई काम गर्नुपर्ने भन्दै निश्चित ठाउँमा बजेट विनियोजन गर्न सकेमात्र त्यसले परिणाम दिने बताउनुभयो ।नगर अधिवेशनको नीति तथा कार्यक्रमले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमअन्तर्गत बालविवाह न्यूनीकरणका लागि साउन १ गतेदेखि जन्मिएका हरेक छोरीलाई जन्मेदेखि २० वर्षसम्म वार्षिक रु एक हजारका दरले बैंक खातामार्फत प्रदान गर्ने भएको छ ।

त्यसैगरी, आमासँग उपमेयर कार्यक्रम, गर्भवती महिलासँग उपमेयर कार्यक्रम, हाम्रो विद्यालय राम्रो विद्यालय अभियान, मेयर छात्रबृत्ति कार्यक्रम, सुन्दर टीकापुर साक्षर टीकापुर, म स्वस्थ मेरो देश स्वस्थ अभियानलगायत १५२ बुँदे नीति तथा कार्यक्रम नगरप्रमुख तपेन्द्रबहादुर रावलले प्रस्तुत गर्नुभएको थियो । नगरसभा अधिवेशनमा पारित भएका नीति तथा कार्यक्रममाथि दफावार छलफल भई केही नीति तथा कार्यक्रम संशोधन गर्ने गरी अधिवेशन सम्पन्न भएको नगरप्रमुख रावलले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पत्रकारद्वारा मिडिया काउन्सिल विधेयक खारेजीको माग

उदाए भविष्यकी अन्जु पन्त, १० वर्षमै दूनियाँ चकित पार्ने स्वर, गाइन् यसरी अनेकौं गीतहरु (भिडियो सहित)