‘प्रधानमन्त्री ओली भजन मण्डलेको घेरामा सिमित भए’

काठमाडौं, ६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले दुई तिहाईको आडमा एकाधिकार र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । उनले कांग्रेस सरकारको विरोधमा सडकमा उत्रिने चेतावनी दिए ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । सरकारले गुठीसम्बन्धी विद्येयक, मिडिया काउन्सिललगायतका विभिन्न विद्येयक बनाउँदा सरकारले सरोकारवालाहरुसँग छलफल नै नगरेको र सबै ठाउँमा नियन्त्रण गर्न खोजेको उनको आरोप छ ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारले महत्वकांक्षी घोषणा गर्ने तर बोलेका कुरा पूरा नगरेको पनि गुनासो पोखे । उनले भने,‘नेकपाका नेताहरुले पनि चुनाव ताका महत्वकांक्षी अभिव्यक्ति दिए । उहाँहरुको घोषणापत्र नै महत्वकांक्षा थियो ।’ वर्तमान सरकारसँग मुलुकको विकास र समृद्धिको लागि काम गर्ने सुनौलो अवसर रहेको भएपनि त्यसको सदुपयोग गर्न नसकेको उनको आरोप छ ।सरकार बनेको १६ महिना बितिसक्दापनि अहिलेसम्म एउटापनि राम्रो काम गर्न नसकेको पनि पौडेलको आरोप छ ।

उनले भने,‘सडकको नाम परिवर्तन गर्दैमा केही हुँदैन, यो नयाँ काम होईन ।’ यो वर्षको बजेटमा पनि नयाँ कुरा केही नआएको उनको भनाई छ ।‘बजेट र नीति तथा कार्यक्रम केही पनि प्रगतिशील छैनन्’–उनले थपे । सरकारले गुठीलाई पनि आफ्नो प्रभावमा विस्तार गर्न चाहेको पौडेलको आरोप छ । उनले भने,‘सरकारले संस्कृतिमाथि बलात् हस्तक्षेप गर्न खोज्यो ।’ वर्तमान सरकार सफल हो भनेर भन्न सक्ने र गर्न सक्ने कुनै तर्कको आधार नै नभएको पनि उनले जिकिर गरे । ओली सरकार पूर्ण रुपमा असफल भएको उनको दाबी छ । ‘सरकारले व्यवस्था र संविधानमाथि नै आक्रमण गर्न खोजेको छ ।’–उनले थपे ।पौडेलले नेकपाभित्रपनि सांसदहरुले विद्रोह गर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओली सिमित स्वार्थ समूहको घेराभित्र रहेको उनको भनाई छ । सरकारले सुनकाण्ड, फोरजी काण्ड, बालुवाटार जग्गा प्रकरण, टुँडीखेल काण्डमा किन ढाकछोप गर्न खोजेको ? भन्दै उनले प्रश्न गरे ।

ओली सरकार समयमै नसच्चिने हो भने मुलुकमा ठूलो दुर्घटना हुनसक्ने खतरापनि पौडेलले औंल्याए । राष्ट्रपति र उपराष्ट्रपतिहरुले सुविधा विस्तार गर्नमा मात्रै ध्यान केन्द्रित गरेको पनि उनको आरोप छ । उनले भने,‘पहिले पहिले राजा र अहिलेको राष्ट्रपतिको सवारी उस्तै छ ।’आफ्नो पार्टी सडकमा नजाँदा जनता आफैं सडकमा आउनेपनि उनले बताए । उनले भने,‘त्यसैले हामी सडकमा जानुको विकल्प छैन । गुठी विद्येयकको विरुद्धमा भएको सडक संघर्ष त सामान्य हो ।’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यदि आलोपालो सरकार सञ्चालनबारे सहमति भएको हो भने त्यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।उनले भने,‘यदि सहमति भएको हो

ने सरकारको नेतृत्व गर्ने कुरामा आलोपालो हुनुपर्छ । भएको सहमति कार्यान्वयन हुनुपर्छ । उहाँहरुबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमतिको कुरा हाम्रो तहसम्म आईपुगेको छैन । यदि साँच्चिकै हो भने सहमतिको कार्यान्वयन हुनुपर्छ ।’ उनले अब प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने पनि संभावना सुनाए । वर्तमान सरकार पूर्ण रुपमा सफल भएको पनि पोखरेलको दाबी छ ।
सरकार बनाउँदै गर्दा आफूहरुको काँधमा धेरै जिम्मेवारी रहेको सुनाउँदै उनले ती सबै जिम्मेवारीहरु वहन गर्दै यहाँसम्म आईपुगेको उनको भनाई छ । उनले भने,‘सरकारले पहिलो वर्ष आधार वर्ष बनायो । अब समृद्धिको यात्रा तय भैसकेको छ । सरकारले समृद्धि हाँसिल गर्छ । यो समृद्धिको यात्रामा हामी सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहन्छौं ।’
उनले सरकारले विभिन्न विद्येयकहरु आवश्यक भएकोले अघि बढाएको सुनाउँदै गुठी विद्येयक पनि परिस्कृत गर्दै अघि बढाउने विश्वास दिलाए । प्रमुख विपक्षी दलले कुनै एजेण्डा वा मुद्दा नै चयन गर्न नसकेको पनि उनको आरोप थियो । कांग्रेसले संसदमा प्रधानमन्त्रीभन्दा पहिला बोल्न पाउनुपर्छ भनेर संसद अवरोध गरेको घट्नालाई उनले खेदजनक भएको टिप्पणी पनि गरे ।

राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजकिशोर यादवले सरकारको कामकारबाही र पछिल्लो समय घटेका एक दुई घट्ना हेर्दापनि मुलुक सही ठाउँमा नपुग्ने दाबी गरे । उनले भने,‘पछिल्लो समय सरकारप्रति जनताको विश्वास घट्दै गएको छ । अविश्वास र निराशा बढ्दै गएको देखिन्छ ।’यादवले जनतामा सरकारप्रति अविश्वासको खाडल बढ्दै गएको र यही मौका छोपेर अन्तर्राष्ट्रिय शक्तिहरुले नेपालमा नराम्रोसँग खेल्न थालेको पनि टिप्पणी गरे । उनले भने,‘अहिले त जसलाई जे मन लाग्यो, त्यही बोल्ने चलन छ । सरकार सफल भन्दै हिँडेको छ । र केही हारको कुण्ठा बोकेर हिँडेका छन् ।’

पछिल्लो समय राजनीतिक दल र यसका जिम्मेवार नेताहरु कुनै न कुनै बहाना बनाएर आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको पनि आरोप लगाए । उनले ईण्डो–प्यासिफिक स्ट्राटेजीमा नेपालको स्टाटस के हो ? भन्दै सरकारसँग प्रश्न तेर्साए । उनले भने,‘परराष्ट्रमन्त्रीले यसबारेमा शब्द खेलाएर जवाफ दिनुभएको छ । मैले यो कुरा संसदमा पनि उठाएको छु । यो गम्भिर विषय हो । त्यसैले गैरजिम्मेवारी अभिव्यक्ति दिएर उम्किन मिल्दैन ।’
वर्तमान प्रधानमन्त्री ओली भजन मण्डले र केही सिमित व्यक्तिहरुको घेरामा बाँधिएको उनको आरोप छ । उनले भने,‘माईतीघरमा गुठी विद्येयकको विरुद्धमा भएको प्रदर्शन मतादेशमाथि जनादेशको विजयी हो ।’ सरकारले महत्वपूर्ण विषयमा र प्रत्यक्ष जनतासँग जोडिएको विषयमा सबैसँग छलफल गर्नुपर्ने र साझा दृष्टिकोण बनाउनुपर्ने पनि उनको भनाई छ ।
दुई तिहाई बोकेको सरकार र नेकपा अहिले गुटै–गुट र उपगुटमा भासिएको पनि यादवको आरोप छ । उनले भने,‘यो सरकार र यसको नेतृत्वप्रति जनतामा ठूलो निराशा छ ।’ नेताहरुले ठूलो त्याग, संघर्ष र बलिदानी दिएर अहिलेको उपलब्धि हाँसिल भएको भएपनि नेतृत्वको चरित्रमा परिवर्तन नभएको पनि उनले टिप्पणी गरे ।

नेपालमा बाहृय हस्तक्षेप भए मुलुकको हित र पक्षमा प्रयोग गर्न सक्नुपर्नेपनि उनको धारणा छ । सदनभित्र र सदन बाहिर रहेका शक्तिहरुलाई सरकारले विश्वासमा लिएर अघि बढ्न सकेमात्रै मुलुक र जनताको हितमा हुने उनको सुझाव छ ।
यादवले लोकसेवा आयोगको विज्ञापन संविधानको खिलाफमा रहेको पनि आरोप लगाए । उनले भने,‘गुठी विद्येयक फिर्ता लिएर सच्याउन खोजिएझैं लोकसेवा आयोगको विज्ञापनपनि सच्याउनुपर्छ ।’ वर्तमान सरकारका मन्त्रीहरु नै प्रचारमुखी भएको उनको आरोप छ । उनले भने,‘मन्त्रीहरु त वास्तवमै आफ्नो क्षेत्रका मन्त्री मात्रै भए ।’ईतिहास र नेपाली जनताले वर्तमान प्रधानमन्त्री ओलीलाई ठूलो अवसर दिएको भएपनि उनले अवसरको सही सदुपयोग गर्न नसकेको यादवको आरोप छ । उनले भने,‘उहाँ सानो घेरामा मात्रै रमाउनुभयो ।’

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

ग्लोबल विजनश क्लेजद्वारा निःशुल्क आखाँ शिविर समपन्न

नेपाललाई कर्मयोगीहरुको देश बनाउनु पर्दछ