श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी भई आज साँझ स्वदेश फर्कनुभएको छ । जेनेभामा रहँदा उहाँले आइएलओले आयोजना गरेको १०८औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै उहाँले मर्यादित श्रमको अभ्यास, श्रमिकका हकअधिकार स्थापित गर्ने विषय र सामाजिक सुरक्षा तथा सामाजिक संवादका माध्यमबाट असल श्रम सम्बन्धको विकास गर्न नेपालले शुरु गरेको नीतिगत, संस्थागत र कार्यगत सुधारका प्रयासबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभएको थियो ।
सम्मेलनकै दौरान उहाँले विभिन्न मुलुकका समकक्षीसँग श्रम आप्रवासनका क्षेत्रमा सहकार्यका लागि औपचारिक तथा अनौपचारिक छलफल गर्नुभएको थियो । मन्त्री विष्टले टर्कीको परिवार, श्रम तथा सामाजिक सेवामन्त्री, लेबनानका श्रममन्त्री, साउदी अरेबियाका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरी सुरक्षित आप्रवासन, आप्रवासी कामदारको हकहितका विषयमा विमर्श गर्नुभएको थियो ।
जेनेभामै रहँदा उहाँले अफ्रिकी मुलुक मरिसस र संयुक्त अरब इमिरेट्स (युएई) सँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । मन्त्री विष्ट आइएलओको शतवार्षिकी समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै गत जेठ २५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणदलमा श्रम मन्त्रालयका सचिव महेशप्रसाद दहाल, सहसचिव डा रामप्रसाद घिमिरेलगायत हुनुहुन्थ्यो ।(रासस)
Comments
0 comments