सवा १३ अर्बमा हाज्माले लियो नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ठेक्का

काठमाडौं : बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला (४.५१ किमि) सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्माले पाएको छ । हाज्माले अर्को कम्पनी आन्दोसँग मिलेर सुरुङमार्ग बनाउनेछ । सडक विभागका अनुसार सुरुङमार्ग निर्माणका लागि चीन, भारत, टर्की , कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर प्रतिस्पर्धामा थिए ।

सवा १३ अर्ब रुपैयाँमै सुरुङमार्ग निर्माण गर्न सहमत भएपछि हाज्मा र आन्दोलाई जिम्मा दिन लागिएको सडक विभाग वैदेशिक महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । ‘सहभागीमध्ये हाज्माको ठेक्का रकम कम देखियो । त्यसमा पनि ७० करोड रुपैयाँ ऊ घटाउन राजी भयो,’ उनले भने, ‘सुरुङमार्ग निर्माणको ठेक्का उसैलाई दिने निर्णय भएको छ ।’ यो समाचार नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ। समाचार टेकराज थामीले लेखेका हुन्।

महाशाखाका अनुसार असार मसान्तसम्ममा कम्पनीसँग ठेक्का सम्झौता भइसक्नेछन् । ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माणको काम पूरा हुनुपर्नेछ । कम्पनीले आगामी हिउँदबाटै काम सुरु गर्नेछ । यसअघि हाज्माले कोटेश्वर–सूर्यविनायक सडक र बिपी राजमार्ग निर्माण गरिसकेको छ । ‘हाज्माको रेपुटेसन राम्रो छ । यसले लिएको सबै काम समयमा नै सकिएको छ,’ थापा भन्छन्, ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम पनि निर्धारित समयमा नै सकिन्छ ।’

महाशाखाका अनुसार सुरुङमार्गको कुल लागत रकम १६ अर्ब ६९ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ । निर्माणमा लाग्ने सबै रकम जापानी सहयोग नियोग जाइकाको सहुलियत ऋण हो । सरकारले १० वर्षसम्म यसको ब्याज तिर्नुपर्दैन । त्यसपछि भने .०१ प्रतिशतका दरले प्रतिवर्ष ब्याज भुक्तानी गर्नुपर्नेछ । ३० वर्षभित्र ऋण चुक्ता गरिसक्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

बाघ निर्माता छवि ओझाका पूर्वपत्नी रेखा र वर्तमान श्रीमती शिल्पाबीच जम्का भेट भएपछि

प्लास्टिकबाट इन्धनः प्रयोगशाला नहुँदा गुणस्तर परीक्षणमा समस्या