काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा प्रतियोगितामा दिल्ली क्यापिटल्सलाई ठूलो धक्का लागेको छ । सर्वाधिक विकेट लिने बलर रहेका कागिसो राबडा चोटका कारण प्रतियोगिताबाट बाहिरिएसँगै दिल्लीलाई धक्का लागेको हो । दिल्ली क्यापिटल्सका यी दक्षिण अफ्रिकी खेलाडीले १२ खेलमा २५ विकेट लिएका थिए। विश्वकपको पुर्वसन्ध्यामा कागिसोको यो चोटले दक्षिण अफ्रिकालाई समेत चिन्तित बनाएको छ।
दिल्लीको अघिल्लो खेलमा राबडाले खेलेका थिएनन्। रोयल च्यालेन्जर्स बैंगलोरसँग अप्रिल २८ तारिखमा भएको खेलमा राबडाको ढाडमा समस्या देखिएको थियो। विश्वकप अघि फिट हुन उनलाई आईपीएलबाट बोलाईएको दक्षिण अफ्रिकी क्रिकेट बोर्डले जनाएको छ।
राबडाले जारी आईपीएलमा ७ दशमलब ८२ रनको इकोनोमीमा बलिङ गरेका छन्। सर्वा्धिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सको नाममा १३ खेलबाट २१ विकेट छ।
प्रतियोगितामा १३ खेलबाट १६ अंक भएको दिल्ली तेस्रो स्थानमा छ। मुम्बई इन्डियन्सको पनि १३ खेलबाट १६ अंक छ। १३ खेलबाट १८ अंक भएको चेन्नई शीर्षस्थानमा छ। यी तीनवटै टोली प्ले अफमा पुगिसकेका छन्।
दिल्लीले लिग चरणको अन्तिम खेलमा राजस्थान रोयल्सको सामना गर्दै छ। यो खेलले शीर्ष दुई स्थानमा उसको भाग्य निर्धारण गर्ने छ।
Comments
0 comments