काठमाडौँ । बंगालको खाडीबाट विकसित भएको चक्रवात ‘फानी’ को प्रभाव नेपालमा पनि परेको छ । चक्रवात भारतको ओडिसा स्थित पुरी तटमा ठोक्किएको छ । त्यहाँ हावाको गति प्रतिघण्टा १७५ किलोमिटर रहेको बताइएको छ। यसको प्रभाव अहिले नेपालको पूर्वी तथा मध्य भागमा पनि परेको छ । काठमाडौं उपत्यकासहितका क्षेत्रमा मेघ सर्जनसहित पानी परिरहेको छ ।
चक्रवातको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा शुक्रबार र शनिबार मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन–चट्टयाङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै चक्रवातको प्रभावले हिमाली भूभागमा भारी हिमपात हुने भएकोले उच्च हिमाली क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। शुक्रबारदेखि आइतबारसम्म पर्वतारोहणमा नजान भनिएकाे छ ।
चक्रवात बिस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको छ। त्यहाँबाट यो प्रणाली फेरि उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ । भारतको ओडिसाबाट झण्डै ११ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिसकिएको छ ।
यो आँधी अब खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक र बालेश्वर जिल्लाको बाटो हुँदै पश्चिम बंगाल तर्फ बढ्नेछ । मौसम विभागका अनुसार तटमा सम्पर्क भएपछि आँधिको तीव्रतामा कमी आउने छ । यो आँधीका कारण ओडिसामा वर्षा सुरु भएको छ ।
उद्धारकर्मीहरुलाई हाइअलर्टमा राखिएको छ । चक्रवातको असरलाई मध्यनजर गर्दै बिहीबार रातिदेखि नै उडानहरु रद्द गरिएका छन् भने रेल चल्न पनि रोक लगाइएको छ।
Comments
0 comments