एक सय ११ दिनमा यस्तो बन्यो धरहरा, ४२ करोड सकियो, कहिलेसम्म बन्छ ?

काठमाडौं । २०७२ साल बैशाख १२ गतेको भूकम्पले काठमाडौंको मुटुमा रहेको ऐतिहासिक सम्पदा धरहरा सखाप भयो । त्यसपछि झण्डै ३ वर्ष कसले र कस्तो बनाउने भन्ने विवाद हुँदा धरहराको पुनर्निर्माण अन्यौल बन्यो । तर, अहिले भत्किएको धरहराकै ठूटोको आडैमा बन्न लागेको नयाँ धरहरा निर्माण भइरहेको छ । गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेयता अहिलेसम्म झण्डै १२ प्रतिशत काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका पूर्वसहसचिव तथा धरहरा पूनर्निर्माण विज्ञ समिति सदस्य राजुमान मानन्धरका अनुसार धरहराको जगको काम अन्तिम चरणमा पुगेको छ । तर, यस दौरान निर्माण कार्यमा चुनौती नआएका होइनन् । धरहरा क्षेत्रमा बिछ्याइएका खानेपानीका पाइप, ढल, टेलिफोन र विद्युतका तारले पनि काममा ढिलासुस्ती भएको प्राधिकरणको भनाइ छ । अब बन्ने धरहराको क्षेत्र समेत बिस्तार हुँदैछ । आडैको गोश्वारा हुलाक कार्यालय, सुन्धारानजिक रहेको राष्ट्र बैंकको टक्सार कार्यालय भत्काइनेछ । कर्मचारी सञ्चय कोषको स्वामित्वको काठमाडौं मल समेत भत्काउने योजनामा प्राधिकरण छ ।

३ वर्ष ८ महिना अघि ०७२ वैशाख १२ को भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण प्राधिकरणसँग भएको सम्झौताअनुसार ठेकेदारले काम गरे अबको ठ्याक्कै २ वर्षपछि धरहराले आफ्नो पुरानै विरासत पाउनेछ । धरहरा पुरानै स्वरुपको तर, अत्याधुनिक बन्नेछ । अब बन्ने धरहरामा लिफ्टदेखि पार्किङसम्मका विविध सुविधा हुनेछन् । अब बन्ने धरहराको भुईं तलामा पुनर्निर्माणका क्रमका तस्वीरहरु संग्रहित गरेर प्रदर्शनीमा राख्ने योजना छ । अक्टोबर २०२० भित्रै धरहराको निर्माण सक्ने लक्ष्य छ । गत १० सेप्टेम्बरमा प्राधिकरणले टेण्डर आहृवान गरेर जीआईईटीसी रमन जेभीलाई धरहरा पुनर्निर्माणको ठेक्का दिएको हो । सम्झौता अनुसार रमन जेभीले १० अक्टोबरदेखि काम थाल्ने भनिएपनि २१ दिन ढिलोगरी निर्माणस्थलमा प्रोटेक्सन पालिङ अर्थात छेकबार गर्ने लगायतका काम थालेको थियो ।

टेलिकमको अण्डरग्राउण्ड फाइबर, खानेपानीका पाइप विद्युतका तार परिसर क्षेत्रमा परेकाले ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ । भत्किएको धरहराको ठूटोमाथि छत राखेर चारैतिरबाट १० मिलिमिटरको टेम्परग्लास सिसाले घेरेर संरक्षण गर्ने योजना छ । धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गर्न ठाउँ छुट्याइएको छ । रमन जेभीले ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २४० रुपैयाँमा यो ठेक्का पाएको हो । अब बन्ने धरहरा बाहिरबाट ११ तला र भित्रबाट २२ तलाको हुनेछ भने टुप्पोको गजुरहित ७९ दशमलब २ मिटर ९२५७.४ फिट अग्लो हुनेछ । विसं १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।

२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् । धरहरामा र्भयाङ चढेर होइन, लिफ्टबाट ‘टप’ मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । लिफ्ट एक पटकमा १० जनासम्म चढ्न सक्ने हुने भनिएको छ ।

लिफ्टबाट धरहराको भित्री भागको २०औं तलासम्म पुग्न सकिनेछ र त्यहीँबाट काठमाडौं अवलोकन गर्ने व्यवस्था हुनेछ । २० औं तलाको उक्त अवलोकन कक्षमा एक पटकमा ५४ जनासम्म अटाउनेछन् । धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्री भाग आधुनिक हुनेछ । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छ । बेसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ । धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रदर्शनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्रीसमेत हुने प्राधिकरणले जनाएको छ । धरहरा छिर्ने्बित्तिकै आकर्षक बँगैचा आउने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्टलगायतका सुविधाहरु पनि हुनेछन् । धरहरा परिसरमा तीनतले पार्किङ हुने छ । पार्किङमा ३४७ वटा सवारी र ७०० वटासम्म मोटरसाइकल अट्ने बताइएको छ । पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Kerala’s Muslim Education Society bans burqas in its colleges

Tomato prices surge from Rs 15 to Rs 60 per kg in one week