काठमाडौं । ललितपुर महानगरपालिका– २१ खोकनामा २७ नम्बर निर्माणाधीन विद्युत प्रशारण लाइनको टावर ढालिएपछि लोडसेडिङ गर्नुपर्ने बाध्यात्मक अवस्था आउन लागेको बताइएको छ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको निर्माणाधीन थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनको टावरको फेदबाट नटबोल्ट खोलेर ढालिएपछि बुधबार बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरीक्षण गरेका छन् ।
निरीक्षणपछि निर्देशक घिसिङले सो प्रसारणलाइन बनेन भने ललितपुरमा निकट भविष्यमा नै लोडसेडिङ गर्नु पर्ने बाध्यात्मक अवस्था आउने बताएका हुन् । विद्युत्को माग बढिरहेको तर हाल विद्युत आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हुँदा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नु घिसिङले बताए ।
आर्थिक वर्ष २०५५÷०५६बाट सुरु भएको थानकोट(चापागाउँ(भक्तपुर प्रसारण लाइन आयोजनाको ललितपुर खण्ड स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । ललितपुरको खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरिरहेका छन् ।
काठमाडौं र भक्तपुरतर्फको निर्माण भने सकिएको छ । समस्या समाधानका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल भएको छैन । ‘मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भइरहेको छ, तर थानकोट–चापागाउँ–भक्तपुर प्रसारण बन्न नदिने हो भने पर्याप्त विद्युत् भएर पनि ललितपुरमा दिन सकिँदैन’, घिसिङले भने, ‘स्थानीयले प्रसारण लाइन बनाउन दिँदैनन्, खडा गरिएका टावर ढालिदिन्छन् अनि कसरी काठमाडौं उपत्यकामा विद्युत आपूर्ति दिने ? प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउँदैछ ।’
Comments
0 comments