काठमाडौं । चार वर्ष अघि आएको शक्तिशाली भूकम्पपछि बन्द भएको चीनसँगको तातोपानी नाका खुल्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न चीन भ्रमणपछि सो नाका खुल्ने भएको हो । यसबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैशाख १२ को भूकम्पपछि अबरुद्ध रहेको तातोपानी नाका आउँदो जेठ १७ देखि सञ्चालनमा आउने जानकारी दिएका हुन् ।
मन्त्री ज्ञवालीले चीनसँग भएको सम्झौता ऐतिहासिक भएको जानकारी दिँदै चिनियाँ राष्ट्रपति सी जिङपिङलाई नेपाल भ्रमणको निम्ता गरिएको र चिनियाँ पक्ष यसबारे सकारात्मक रहेको जानकारी पनि दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीको नौदिने चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार तातोपानी नाकाबाट पहिलेजसरी खुद्रा व्यापार भने नहुने, बरु कन्टेनरमात्र आवतजावत हुने छ।
चीनतर्फका कन्टेनर सिधै तल आउने र सुख्खा बन्दरगाहमार्फत सामानहरु आवतजावत हुने जानकारी पनि मन्त्री ज्ञवालीले गराए। उनका अनुसार यसका लागि चीनतर्फका सबै संरचना बनिसकेका छन् भने नेपालतर्फ जुरेपहिरोलगायत केही स्थानमा चाँडै अवरुद्ध संरचना निर्माण गरिनेछन्।
परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिङपिङलाई नेपाल भ्रमणको निम्तो दिएको र यसबारे चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी पनि गराएका थिए।
केरुङबाट काठमाडौँ आउने रेलमार्गको सम्भाव्यता अध्ययन पनि चाँडै थाल्ने जानकारी पनि मन्त्री ज्ञवालीले दिए। मन्त्री ज्ञवालीले पारवहन सम्झौता कुनै देशको विपक्षमा नरहेको पनि ब्रिफिङका क्रममा स्पष्ट पारेका थिए।
Comments
0 comments